शिक्षा

एक आंशिक प्राध्यापकको पत्र  प्रधानमन्त्री एवम् कुलपतिलाई 

प्रधानमन्त्री एवम् कुलपति ज्यू नमस्कार ।

जेष्ठ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले उठाएका मागहरुले विभिन्न आन्दोलन पार गरेपनि निकासको बाटो लिएको छैन । ०४६ पछिको परिवर्तन र ०६१/६२ को आन्दोलनले दुइपटक समस्याको समाधान भएपनि ०६४ पछिका आंशिक प्राध्यापकले गणतन्त्रात्मक समयमा पढाएको मासिक ज्यालाको माग गरिरहेका छन् । केवल भनिरहेका छन्, करार गर र अब उप्रान्त आंशिक नियुक्त बन्द गर । नियुक्ति गर्नैपरे सीमा निर्धारण गरेर गर ।

विश्वविद्यालयको गरिमा र समृद्धि तपाइँकै हातमा छ, यो मामलामा तपाइँभन्दा बलबान अब कोहि छैन । माग पूरा गर्नुस् ।

प्रधानमन्त्री एवम् कुलपति ज्यू ! विश्वविद्यालयमा कक्षा भारहरू थामिनसक्नु छ तर आंशिकलाई करार गर्न दरबन्दी छैन भनियो पटक—पटक । हामी दशौँ वर्षदेखि त्यहि स्थानमा आंशिक छौँ, निस्कीऊँ भन्दा कहाँ जाने ? उमेर आंशिकमा बितेको छ । शिक्षण संस्थाले चुसेका हामी तपाइँसमक्ष न्याय मागिरहेका छौँ । तत्कालिन प्राधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरीजाप्रसाद कोइरालाले जस्तो निर्णय गरी दरबन्दी सृजना गर्न अवश्य सक्नुहुन्छ तपाइँ । अब त त्यतिपनि परेन किनकी अघिल्लो सरकारको मन्त्रीपरिषद निर्णयले त्यो बाटोपनि खुला गरिदिएको छ । करिब १४२० आंशिक प्राध्यापकलाई प्रक्रियागत करार गर भनि निर्णय गरेको छ । सबै क्षेत्रको सहमती भइसकेको छ, अनि अर्थबाट २ महिनाको तलवपनि बिनियोजन भइसकेको छ, कार्यान्वयन भएको छैन ।

विश्वविद्यालय पढाउने शिक्षकले यो स्तरको लेखाई नसुहाउला तर कुलपतिसंग गांस, बास र कपासको लागि आग्रह गर्ने अधिकार अवश्य छ हामीलाई । हामीलाई उपकुलपति, रेक्टर र रजिष्टारले पटक पटक ढाँटे, धोका दिए । रकम छुट्टीसकेपछि पनि उनीहरुले त्यहि आवाज दोहोर्याउन छाडेका छैनन्, किनकी उनीहरु विभिन्न शिर्षकमा अनियमितताको शिकार भएका छन् । यहि भएर पत्र लेख्न बाध्य बने म । कृपया यो समस्याको आंशिकतालाई पूर्णतामा बदलिदिनुहोस् । रोकिएको फाइल अगाडी बढाउन आदेश दिनुहोस् ।

०६५ सालदेखिका हरेक सरकारसंग सम्झौता गरेका छौं कतै राहत उपलब्ध गराउला भनेर तर खहरे खोलाजस्तै भए बिगतका १० वर्ष ! चारैतिरबाट गरिब मास्टरसावहरूले दुःख गरेर सर्ट र पाइन्ट टल्काएर कक्षा लिन कहिल्यै आनाकान र बिरामी भएको बहाना गरेका छैनन् । केवल भनिरहेका छन्, लगानी गरियो कम्तिमा मासिकी ज्याला देऊ अर्थात करार गराइदेऊ ।

हामीले कसैको ज्यान मागेको होइन कुलपति ज्यू, केवल भनिरहेका छौँ पढाएको पैसा मासिकमा देऊ । के हाम्रो यतिपनि अधिकार छैन ?

कुलपति ज्यु ! सीमा निर्धारण गरि करार गर्नुपर्ने, पढाएको ज्याला पाउनुपर्ने, समयानुसार विज्ञापन गर्नुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने जस्ता माग राखेर आमरण अनशन गरी थाकेका आंशिक प्राध्यापकको पीडा थामिनसक्नु छ । विश्वविद्यालय पटक पटक सम्झौता गर्छ तर कार्यान्वयनमा चुक्ने गरेको कारण आंशिकको समस्या लम्बिँदो छ । तर, उनीहरूको जायज माग पूरा नगरेकै कारण थप समस्याहरु सिर्जना भएको प्रष्ट छ । हामीले कसैको ज्यान मागेको होइन कुलपति ज्यू, केवल भनिरहेका छौँ पढाएको पैसा मासिकमा देऊ । के हाम्रो यतिपनि अधिकार छैन ?
                              
आंशिक प्राध्यापकसंग भएका लिखित सम्झौताहरू अक्षरंश पालना हुने हो भने विश्वविद्यालय बन्छ । तर पटक—पटक छलकपटमा गुजार्ने राणनीतिलाई लम्ब्याइँदो छ । कार्यकारी निकायले यतिका दिनसम्म दरबन्दी छैन भनेर टार्यो अब अर्थले आलटाल गरिरहेको छ । कृपया त्यहाँबाट काम सम्पन्न गर्न अब नकुराउनुहोस्, भोको पेटले अब आंशिक पढाउन सक्दैनन् । कुलपति ज्यू, भन्नोस् हामी के गरौं ? कहाँ जाऊँ, र कसलाई भनौँ ! सुरु र अन्तिम निकाय नै तपाइँ हो, समय अब ढिला भइसकेको छ । विश्वविद्यालयको गरिमा र समृद्धि तपाइँकै हातमा छ, यो मामलामा तपाइँभन्दा बलबान अब कोहि छैन । माग पूरा गर्नुस् ।

नीति निर्माण तहमा बसेर राम्रा कानूनहरू निर्माण गर्दै दीर्घकालीन हुने कार्यहरू गर्नुपर्नेमा विश्वविद्यालयहरूमा पछिल्लो समय घुष्याहा र भ्रष्ट व्यत्तिहरूको मनोमानी बढ्नाले पेशा र पद्दतिमाथि धब्बा जन्मन पूगेको छिपाउन सकिन्न । यसमा तपाइँहरूको भूमिका जोड्दार छ ।  यस्ता गतिविधिले गर्दा पैसा खर्च गरेर जे पनि जसरी पाइन्छ भन्ने केहीतन्त्रले जरा गाडेको छ । त्यस्ता तत्वहरूका लागि आंशिक प्राध्यापकको समस्यालाई समाधान गर्नु अपरिहार्य छ । यो वेथितिलाई यत्तिकै छाडिदिने हो भने गलत परिपाटीको कहिल्यै अन्त्य हुँदैन । आंशिकले भोको पेटले कलेज पढाएका छन् । अब बुझ्नुस् कुलपति ज्यू विश्वविद्यालय आंशिक प्राध्यापकले धानेको छ । यसको निराकरण अपरिहार्य छ ।

पील्सिएका करिब १४ सय २० आंशिक प्राध्यापकहरूका यो माग होइन, जायज त्यतिबेलै भएका हुन् जुन पूरा गरेर शैक्षिक क्षेत्रलाई आंशिक मूक्त बनाइदिनुस् ।

यहां आंशिक प्राध्यापकले  अहिलेसम्म न्याय पाउन सकेका छैनन् । कयौँपटक धोकाखडीमा उनीहरूको जीवन चल्दो छ । नविन नेतृत्व आउँदा समाधान हुने आशा धेरैपटक मरिसकेको छ । इतिहासको पाटो ताजा छ, विश्लेषण गर्ने छुट्टै परिपाटी होला, तर न्याय नभएको प्रष्टै देखिन्छ । सरकार, संसद, राजनीतिक दल, पदाधिकारी, विभिन्न निकायहरू राजनीतिक संस्कार र दायित्ववोध नभएका कारण हामीले दुःख माथि महादुःखको सामना गरिरहेका छौँ । 

विज्ञापनपनि समयानुसार नखोल्ने अनि उमेरको हदबन्दी लगाउने, पढाइरहेकोलाई बाइपास गर्ने अनि विज्ञापन खोल्न दिएन भन्ने, मुद्धा पर्ने विज्ञापन गर्ने अनि निकायले अल्झायो भन्ने । यस्तै यस्तै किचलोका कारण त्रिवि गुज्रिँदो छ । कुलपति ज्यू अब भन्नुस अनि गर्नोस् यो एक शिक्षकको मात्र आवाज होइन देश विदेश चलाउने पीँढिले यो चित्कार प्रकट गरिरहेको छ । तपाइँलाई देश चलाउन सिकाउने प्राध्यापकको यो हालत् तपाइँ कतिन्जेल हेर्न सक्नुहुन्छ ! नयाँ नेपाल भनिएपनि आंशिकले यसको स्वाद चाख्न पाएका छैनन् । यसकारण तपाइँबाट हाम्रो आशा केवल हामीसँग सरकारले गरेका लिखित सम्झौताहरू कार्यान्वयन गरिदिनुस् । बरु ठूला माछा वर्षमा २ वटा पक्डीनुस्, यो कुरा भर्खरै तपाइँलेपनि भनिसक्नुभएको छ तर आंशिकलाई दरबन्दी सृजना गर्नुस् । पील्सिएका करिब १४ सय २० आंशिक प्राध्यापकहरूका यो माग होइन, जायज त्यतिबेलै भएका हुन् जुन पूरा गरेर शैक्षिक क्षेत्रलाई आंशिक मूक्त बनाइदिनुस् । आशा छ अर्कोपटक पत्र लेख्दा आंशिक भएर होइन करार भएर लेख्ने छु नमस्कार ।

उही,

चिरन्जीवी लामिछाने
आंशिक प्राध्यापक
त्रिचन्द्र बहुमुखी क्याम्पस
घण्टाघर, काठमाडौँ ।
 

तपाईँको मत