शिक्षा

बन्दाबन्दीमा आंशिक शिक्षकहरूकाे दैनिक गुजारा सम्बन्धमा सरकार तथा त्रिवि उदाशीन

काठमाडौँ । बन्दाबन्दीको यो कष्टपूर्ण समयमा त्रिभुवन विश्वविद्यायलमा कार्यरत आंशिक शिक्षकहरुको दैनिक गुजाराका सम्बन्धमा सरकार तथा विश्वविद्यालय उदाशीन रहेको बताइएकाे छ ।

नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय कार्य समिति त्रिभुवन विश्वविद्यालयले यो विषम अवस्थामा आंशिक शिक्षककाे दैनिक गुजारा गर्न गाह्रो परेपनि सरकार र विश्वविद्यालय उदाशीन बनेको बताएको हो ।

संघले यस्तो अवस्थामा विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक वातावरण अक्षुण राख्नका लागि अनलाइन कक्षा भने सुरु भइसकेको र कतिपय क्याम्पसहरुले आंशिक शिक्षकलाई शैक्षिक सत्रको सुरुमै दिनुपर्ने नियुक्ति पनि नदिएको, नियुक्तिको अभावमा हाजिरी पनि नभएको र काम गरेकोे महिनौँसम्म पनि ज्याला नपाएको अवस्था रहेको बताएको छ ।

जारी विज्ञप्तिमा बन्दाबन्दीको दुई महिना बितिसकेको र आंशिकसँग रहेको बचत रकम तथा खाद्यान्न सकिएर चुलो निभ्ने अवस्था हुँदापनि कर्तव्य सम्झिएर विवि तथा क्याम्पसले खटाएको कक्षाभार पढाइरहेको भन्दै धैर्यतालाई भोकले जितिसकेको हुँदा भोको पेट लिएर कम्प्युटर अगाडि उभिन असमर्थ रहेको बताइएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा वर्षौंदेखि विविमा प्राध्यापन गरिरहेको र सँधै सम्झौता गर्दै उपेक्षा गरिरहेको भन्दै यो बन्दाबन्दीको समयमा शैक्षिक भत्ताको माग गरेको छ ।

यस्तै आंशिक शिक्षकलाई करार गर्ने पछिल्लो ०७४ मंसिर ८ गतेको निर्णय मन्त्रीपरिषदले गरेको र श्वेतपत्रमा उल्लेख गरेपनि कार्यान्वयनका लागि रु ६३ करोड नपुग भएपछि प्रक्रिया अगाडि बढेको छैन भन्दै सो निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्नको लागि संघले माग गरेको छ ।

०६५ सालपछि सरकार र विश्वविद्यालयले पटक-पटक आंशिक शिक्षकसँग सम्झौता गरेपनि अहिलेसम्म पुरा भएको छैन ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत