शिक्षा

सरकार आंशिकको गाँस रोकियो, के श्वासपनि रोक्ने हो ?

काठमाडौँ । मुलुक कोरोनाभाइरसका कारण पूर्णतयाः लकडाउनमा छ । यो विषम अवस्थामा पनि त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले अनलाइनमार्फत अध्यापन गराइरहेका छन् । आंशिक प्राध्यापक काम गरेर प्रति कक्षाभारको ज्याला थापेर विश्वविद्यालय तथा विद्यार्थीको सेवा गरिनै रहेका छन् ।

बन्दाबन्दीको केहि समय लगत्तै वर्क फर्म होम अन्तर्गत अनलाइन शिक्षा प्रदान गर्ने कार्यमा पनि आंशिक प्राध्यापकले निरन्तरता दिएपनि उनीहरुको गाँस र श्वासको विश्वविद्यालय र सरकारले व्यवस्था गरेको छैन ।

बन्दाबन्दी छ, प्राध्यापन जारी छ तर आंशिक प्राध्यापकको कामबापतको ज्याला रोकिएको छ । विभिन्न समयमा विभिन्न सम्झौता गरेका त्रिविका आंशिक प्राध्यापकको माग पूरा भएको छैन । पछिल्लो समय आशिंक प्राध्यापकको दीर्घकालीन व्यवस्थापनका लागि त्रिविले माग गरेको १४२० दरबन्दी ०७४ सालकै तत्कालीन मन्त्रीपरिषदले स्वीकृत गरेपनि अहिलेसम्म कामको सुरुवात हुन सकेको छैन । आखिर यो अवस्था कहिलेसम्म ? भन्दै आंशिक प्राध्यापकले पुनः सरकारलाई झकझकाएका छन् ।

आइतबार संघद्वारा जारी विज्ञप्तिमा बन्दाबन्दीले हातमुख जोर्न समस्या पर्न थालेपछि विश्वविद्यालयलाई औपचारिक रुपमा मिति ०७७/१/१९ गते नेपाल आंशिक प्राध्यापक संघले ज्ञापनपत्र बुझाएको तर त्रिवि मौन बस्यो । विविका उपकुलपतिले अनौपचारिक रुपमा एक साताको समय मागेकोमा उक्त समय पनि सकिइसकेको र यतिका समय बित्दापनि न विश्वविद्यालय न राज्य कतैबाट पनि समस्या समाधानको लागि कुनै पहल भएको छैन ।

जारी विज्ञप्तिमा मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्नुपर्ने र बन्दाबन्दीको अवस्थामा समयावधिभरका लागि शैक्षिक भत्ता तत्काल उपलब्ध गराउनुपर्ने भनिएको छ ।

उनीहरुले भनेका छन्— भोको पेट लिएर काँचको सिसाका अगाडि उभिएर विश्वविद्यालयको लाज ढाकिदिन कक्षा लिनसक्ने अवस्थामा छैनौँ । साथै उल्लेखित माग पूरा नगरिन्जेल आंशिक प्राध्यापकहरु प्राध्यापनमा नफर्कने घोषणा गरेका छन् ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत