गाउँ सहर

नवरात्रको सातौं दिन आज फूलपाती

फाइल तस्बिर ।

काठमाडाैँ । कोरोना महामारीकाबीच आज फूलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भित्राएर फूलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्राउने चलन छ ।

आज सप्तमीका दिन हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउँछन् । धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण यो विधिमा केही परिमार्जन हुने काठमाडौँ जात्रा व्यवस्थापन समितिका अध्यक्ष राजन महर्जनले बताए ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । संक्रमणको खतराका कारण यी सबै प्रक्रियामा परिमार्जन हुने सम्भावना छ ।

पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट ल्याएर फूलपाती भित्राउने चलन बसेको इतिहास छ । फूलपाती दरबारभित्र भित्र्याउँदा कालो बोकाको बलि दिने चलन रहेको छ ।

त्यसैगरी, देशभरिका प्रमुख शक्तिपीठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरूमा बढाइँसहित साथ फूलपाती भित्र्याउने चलन रहेको छ । फूलपाती भित्र्याउने साइतअनुसार काठमाडाैँकाे टुँडिखेलमा नेपाली सेनाले फूलपातीको बढाइँ जात्रा प्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाइँ गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ ।

उक्त बढाइँको राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वले प्रत्यक्ष अवलोकन गर्दै छन् ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यसपटक कात्तिक १० गते सोमबार विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत