ब्लग

आफ्नो पार्टी शक्तिशाली देखाउन भीड गरेर कोरोना फैल्याउन पाइन्छ ?

  • अनुशा थापा
  • ११ मङ्सिर शनिबार, २०७८ | १९:०७:०० मा प्रकाशित

कोरोना महामारीबाट पुनः एकपटक सबै राष्ट्र घेरिएको छ । कतिपय देशले लकडाउन घोषणा गरिसके भने अधिकांशले आफ्नो देशका सीमा बन्द गरिसकेका छन् । चीनले विभिन्न प्रान्तमा पनि लकडाउन गरिसकेको छ । हाम्रै छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणदर प्रतिदिन बढ्दै गएको खबरहरु आइरहेका छन् ।

भारतमा कोरोनाको संक्रमण बढेसंगै त्यहाँ रोजगारीका लागि गएका, घुम्न गएका, पुगेकाहरु लकडाउन हुने हल्लाले धमाधम नेपाल फर्किने क्रमको सुरुवात भएको छ । नेपाल र भारतको सिमाना खुला छ । नेपालीहरु सजिलै भारत छिर्न पाउँछन् भने भारतीयलाई नेपाल आउन त्यति गाह्रो छैन ।

अहिले नेपालीहरु भारतबाट कोरोना बोकेर नेपाल फर्किरहेका छन् । तर, नाकामा कोरोना परीक्षण गरिएको छैन् । उनीहरु सिधै कोरोना बोकेर आफ्नो गाउँठाउँमा पुगेका छन् । नेपाल सरकारले कोरोना नियन्त्रण गर्न बनाएका मापदण्डहरु नेपाली जनताले नै पालना गरेका छैनन् ।

नेपाली जनता नै रोग बोकेर नेपालीको पछि दौडिरहेको छन् । गृह मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना भएको छ कि छैन भनेर अनुगमन गर्दैन । अरु राष्ट्रमा कोरोनाको रोगी र मृत्युदर दैनिक बढिरहेको छ । युरोपका अधिकांश मुलुकमा दैनिक हजारौको संख्यामा संक्रमित भेटिन्छन् ।

चीनले तीन वटा कोरोना केस भेट्दा आफ्ना देशको विभिन्न प्रान्त नै लकडाउन ग-याे । हाम्रो देशमा अहिले पनि संक्रमणदर र मृत्युदरमा केही फरक आएको छैन ।  तर पनि स्वास्थ्य मन्त्रालयलाई चासो छैन । आफ्नै छिमेकी मुलुकमा कोरोना संक्रमण बढ्दा पनि मन्त्रालयले नाकाहरुमा परीक्षण गरेको छैन ।

अहिले कोरोना परीक्षण गर्नेको संख्या निकै कम हुँदै गएको छ । वडा, नगरपालिकाले पनि कोरोना परीक्षण गर्न छाडिसकेको छ । नेपालबाट बाहिर गएकाहरुमा पनि कोरोना भेटिएको छ । अरु देशको नागरिक पनि नेपाल आउँदा कोरोना नभेटिएको भने होइन ।

अस्पताल र मेडिकलको पैसा खाएर पोजिटिभलाई नेगेटिभ बनाइदिने गरेका छन् । अरु देशले उडान स्थगित गर्दा, सिमाना बन्द गर्दा नेपाल टुलटुलु हरेर बसेको छ । नेपाल सरकारले नेपाली जनता बचाउन न सिमाना बन्द गर्छ न त उडान नै । लामो दुरीका गाडी, मालवाहक ट्रकहरु भित्रिँदा पनि परीक्षण भएको छैन ।

स्वास्थ्य विज्ञहरु स्कुलकलेजहरु बन्द गर्नुपर्छ, नेपालको कोरोना बढ्ने स्थिति देखिन्छ भनेर पटक पटक भनिरहेको छन् । जनताले पनि कोरोनालाई हेल चेक्रयाइँको रुपमा लिइरहेको छन् भने सरकारलाई पनि मतलब छैन् । हिँउदको महिना सुरु भइसकेको छ उसैपनि घाम देख्न मुश्किल परिरहेको छ ।

घाम लागेको छैन प्रदुषण र धुँवाधुलो ह्वात्तै बढेको छ । विभिन्न कारणबस् प्रदुषण बढ्दा मानिसहरुलाई रुघाखोकी, ज्वरोजस्तो सरुवा रोगहरु देखा परिरहेको छ । प्रदुषणबाट जोगिन स्वास्थ्य मन्त्रालयले कुनै पनि सर्तकता अप्नाउन सहयोग पुग्ने सुचनाहरु जारी गरेको छैन ।

प्रदुषण बढेकोको कारणले सरकारले उचित कदम चालेर जनता जोगाउन आवश्यक घडी आएको छ । त्यसका लागि लकडाउन गर्ने हो कि सरकारले नै सोच्नुपर्दछ । सवारी साधनमा पनि अत्याधिक भीड देखिन्छ । सार्वजनिक यातायातमा यात्रा गर्नेहरु कुनैले पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् ।

यता, ट्राफिक प्रहरीहरु पनि हरेर बसेका छन् । ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा ढोकैसम्म यात्रु झुन्डाउँदा पनि कारबाही गरेको छैन । गाडीमा चढ्ने यात्रुहरुले मास्क लगाएका छैनन् भने चालक सहचालकको मुखमा पनि मास्क छैन ।

योसंगै कुनै पनि क्षेत्रमा काम गर्ने मानिसहरुले स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । फुटपाथ व्यवसायी, रात्रिकालिन व्यवसायी, वित्तीय संस्था या विभिन्न थरिका कार्यालयहरुमा हेलचेक्राइँ भइरहेको छ । सरकारले पनि अनुगमन गरेको छैन ।

अब नेपालमा कोरोनाको भव्य आगमन हुन्छ भन्ने संकेत देखिएको छ । जनताहरु पनि कोरोना केही होइन खोप लगाइसकेको छ भन्दै छाडा हिँडिरहेको छन् । तर, खोप लगाएकालाई नै दुईचोटि कोरोना संक्रमण भएको घटनाहरु पनि छन् । तापनि आफ्नै स्वास्थ्यप्रति यस्तो लापरबाही किन ?

हात मिलाउँदा, मुखमा, नाकमा र आँखामा हात लग्यो भने कोरोना सर्छ भनेर चिकित्साहरुले बारम्बार भनिरहेको छन् । उनीहरुले पटकपटक साबुनपानीले हात धुन पनि भनेका छन् । अहिलेसम्म झण्डै १२ हजार मानिसहरुको कोरोनाको कारण मुत्यु भइसकेको छ ।

यता, कोरोना संक्रमितहरु अस्पतालमा मृत्युसंग लडिरहेको छन् । राज्यलाई कर ठाउन र व्यापारीलाई व्यवसायी गरेर पैसा कमाउनतिर मात्र ध्यान छ । राज्य र व्यापारीको प्रलोभनले गर्दा यत्रो जनता मरे । तैपनि सरकारले मतलब गरेन् भने व्यापारीलाई अलिकति पनि पछुतो छैन् ।

आखिरी कोरोना लागेर मर्ने पनि जनता नै हुन् । अझ पनि कोरोना लाग्ने क्रम जारी नै छैन् । मर्नेको संख्या अब फेरि पनि बढ्ने छ जसलाई सरकारले बेवास्ता गरिरहेको छ । लकडाउनसंगै कोरोना घट्छ फेरि बढ्छ यो क्रमश जारी नै छ । संक्रमितको संख्या कम देखिन थालेपछि हामी आफैँ पनि लापरबाही गर्छौँ ।

जथाभावी रुपमा मनोमानी गर्दै निस्किन्छौँ । स्वास्थ्य सम्बन्धी कुनैपनि प्रोटोकलको पालना गर्दैनौँ । जसको उदाहरण नेकपा एमालेले पनि दिएको छ । हाल चितवनमा एमालेको दशौं महाधिवेशन चलिरहेको छ । विदेशी पाहुनासमेत महाधिवेशनमा सामेल भएका छन् ।

देशभरका एमालेका कार्यकर्ता पनि चितवनमा ओइरिएका छन् । भेडाबाख्रा झै सबै कार्यकर्ता कोचेक्रिएका छन् । मानौं कोरोना त गायब नै भइसकेको छ । केपी ओली मञ्चमा भाषण ठोक्न गए कोरोना र खोपलाई लिएर ठूल्ठूला भाषण दिए । तर, आफैँले मास्क लगाउन बिर्से ।

केपी ओलीको भाषण सुन्न पुगेकाहरुलाई पनि उनले मास्क लगाउनपर्छ भनेर सिकाएनन् । प्रधानमन्त्री देउवा, भीम रावलजस्ता शीर्ष नेताहरु पनि त्यहाँ पुगे तर कसैले पनि कोरोनाको जोखिमलाई अड्कल गरेनन् । देशका नेताहरु आफै त जथाभावी गरेर हिँडेका छन् त्यस्ताबाट जनताले के सिक्ने ?

चितवनमा जारी महाधिवेशनबाट भव्य रुपमा कोरोना फैलने निश्चित छ । चुनाव नजिकिँदै जाँदा राजनीतिक दलले जनता भेला गरेर कार्यक्रम गर्ने काम भइरहेको छ । महाधिवेशनमा पुगेका कुनै पनि नेताले कोरोनाको विषयमा टिकाटिप्पणी गरेनन् ।

न उनीहरुले जनतालाई कोरोनाबाट सर्तकता अप्नाउन आग्रह नै गरे । कार्यक्रमभर आफ्नो जयजयकार गरे जनताको विषयमा कसैले सोच्दै साचेन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यो कार्यक्रमको उदघाटन गरे भने उनीबाटै सर्वप्रथम कोरोना फैलाउने काम भयो ।

जनताको बाँच्ने अधिकार सरकारमा बस्नेले खोस्ने भए । यिनीहरुले जनतालाई कोरोना लागेर मर्नपर्ने स्थिति बनाइदिए । आफ्नो पार्टी शक्तिशाली देखाउन कोरोना फैलाएर जनता मार्न पाइन्छ ? यो एमालेलाई जनताद्वारा सोधिएको प्रश्न हो ।

२०७६ साल माघमा नेपालमा एउटा कोरोना संक्रमित भेटिँदाखेरि केपी ओलीको सरकारले लकडाउन ग-याे । २०७६ साल चैत ११ गते देशभर ओली सरकारले लकडाउन ग-याे । सरकारमा हुदाँ जनताको लागि काम गर्न नसकेर ओलीले दोस्रोचोटि पनि लकडाउन ग-याे ।

२०७८ वैशाख १६ गते दोस्रोचोटि पुनः लकडाउन केपीद्वारा गरिएको थियो । आफू सत्तामा हुँदाचाहिँ लकडाउन गर्ने, अहिले आफू हटेपछि कार्यकर्ता बटुल्दै हिँड्ने ? कोरोनाले पनि सत्तामा बस्नेलाई चिन्छ जस्तो छ । आफू सत्तामा बस्दा कोरोना फैलने, आफू हटेपछि कोरोना पनि हट्ने ।

कोरोना फैलाएर जनता मार्ने काम एमालेले गरिरहेको छ । एमालेको देश र जनताप्रतिको कर्तव्य यति नै हो ? स्वास्थ्य मन्त्रालयले अहिले पनि कोरोनाको विवरण सार्वजनिक गरिरहेको छ । कोरोनाबाट यति मरे, संक्रमणदर यति छ भनेर स्वास्थ्य मन्त्रालयले भनिरहेको हुन्छ ।

तर, स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न कुनै पनि योजना बनाएको छैन् । स्वास्थ्यमन्त्री प्रधानमन्त्रीको अगाडि लम्पसार परेको छन् । स्वास्थ्यमन्त्रीले जनताको हितमा रहेर अलिकति पनि काम गर्न सकेनन् । कोरोना लागेर ज्यान गुमाएका जनताको भोटबाट यिनीहरु सत्तामा आए ।

तर, उनीहरुले दिएको भोट यत्तिकै खेर गयो । सरकारको कमीकमजोरीले गर्दा उनीहरुले अकालमा ज्यान गुमाए । कति बालबालिका कोरोनाकै कारण बेसहारा बन्न बाध्य भए । कोरोना लागेर मरिसकेको त अब फर्केर आउँदैन । सरकारलाई त्यत्रा बालबालिका बेसहारा बनाउँदा पनि चेत आएको छैन् ।

अब सरकारले कोरोना फैलाएर जनता मार्ने काम गर्नु भएन । सबै पार्टीका अधिवेशन र कार्यक्रमले भीड बढाएकाे छ । कार्यकर्ता र राजनीतिक दल हो भन्दैमा कोरोनाले बाँकी राख्दैन् । यसतर्फ राजनीतिक दलले मात्र होइन् उनीहरुको कार्यकर्ताले पनि ध्यान दिनुपर्छ । हिजो चितवनमा जम्मा भएका पहिला जनता हुन्, अरू पार्टीका अधिवेशनमा देखिएका भीडपनि जनता नै हुन् । उनीहरुलाई पनि कोरोना लाग्छ । मर्ने त मरिसके तर अरु बचाउनको लागि सरकारसंगै जनता जिम्मेवार हुनुपर्छ ।

तपाईँको मत