शिक्षा

राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी, विद्यालयका ४ सय शिक्षकले दिए राजीनामा

 

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो ।

त्रिविका प्राध्यापक संघ तथा संगठन र कर्मचारी संघ तथा संगठनलगायत राजनीतिक दलका भ्रातृ संगठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशनलगायतका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेको सूचनाका आधारमा सो चेतावनी दिइएको हो । तथ्यांकअनुसार करिब सयको हाराहारीमा शिक्षक र कर्मचारी प्रत्यक्ष रूपमा दलको कुनै न कुनै भूमिकामा रहेको त्रिविको भनाइ छ ।

यसअघि नेकपा एमालेको १०औं महाधिवेशन, नेपाली कांग्रेसको १४औं महाधिवेशन, राप्रपा नेपालको महाघिवेशन र यही ११ देखि १३ गतेसम्म हुने नेकपा माओवादीको महाधिवेशनको प्रतिनिधि भएको जानकारी पाएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनामा विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम–२०५० को नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिइएको हो । सो सूचनामा कुनै पनि दलको सदस्यता लिई वा नलिई उम्मेदवार बन्न हुँदैन, कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ ।

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

 

सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो ।

यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै स्थानीय तहमा पत्र पठाएपछि सामुदायिक विद्यालयमा अध्यापनरत करिब ४ सय शिक्षकले राजीनामा दिइसकेका छन् ।

राष्ट्रिय किताबखानाका महानिर्देशक रामराज खकुरेलले हालसम्म करिब ४ सय शिक्षकले पदावधि सकिनुअगावै राजीनामा दिएको जानकारी दिए ।

राजीनामा बुझाउने अधिकांश शिक्षक विभिन्न दलसँग आबद्ध रहेको, आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने देखिएका छन् । राजीनामा दिनेमा विभिन्न पार्टीको कार्यसमितिमा रहेका, दलको महाधिवेशनमा प्रतिनिधि भएका र पार्टीको जिम्मेवार पदमा रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत