खेल

एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

काठमाडाैं । साविक विजेता नेपालले एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि प्राप्त गरेकाे छ । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो ।

नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ को जित निकाल्यो । नेपाली महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

नेपालले लिग चरणमा लगातार पाँच जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । ६ देश सहभागि प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० र पाँचौँ खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको थियो । उज्वेकिस्तान भने लिग चरणमा दोस्रो बन्दै फाइनलमा पुगेको थियो ।

पुरुषतर्फ नेपालले आजै तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग नै प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तानगरी ६ देश सहभागि थिए । पुरुषतर्फ नेपालले लिग चरणमा दुई जित र दुई हार बेहाेरेकाे थियाे ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत