पाँच दलिय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति
- गाउँ सहर संवाददाता
- १९ पौष सोमबार, २०७८ | १३:१५:०० मा प्रकाशित
काठमाडाैं । पाँच दलिय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । सोमबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँडमा सहमति जुटाएको हो ।
कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको सहभागी एक नेताले बताए । मनोनीततर्फ एक जनामा भने कसलाई पठाउने भन्नेबारे सहमति नभएको उनले बताए ।
राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल ६ वर्ष । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्का दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ ।
ती १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् । राष्ट्रियसभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको छ ।
यो निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । आयोगका अनुसार सात प्रदेशमा मतदानस्थल समेत तोकिसकिएको छ ।
प्रदेश नं. १ मा २ वटा मतदान स्थल तोकिएका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालामा मतदान हुनेछ भने यहाँ मतदाताको संख्या २६४ छ । प्रदेश २ मा महेन्द्रनारायण निधि भवनलाई मतदान केन्द्र तोकिएको छ भने यहाँ ३७२ मतदाता छन् ।
वाग्मती प्रदेशमा हेटौंडाको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान केन्द्र तोकिएको छ भने यहाँ ३४६ मतदाता छन् । गण्डकीमा मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय पोखरा र मतदाताको संख्या २२९ छ ।
त्यस्तै, लुम्बिनीमा २९६ जना मतदाता छन् भने दाङको कर्मचारी मिलन केन्द्र भवनमा मतदान केन्द्र तोकिएको छ ।
कर्णालीमा १९१ मतदाता छन् । यहाँको मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय सुर्खेत हो । सुदूरपश्चिममा २२७ जना मतदाता छन् भने प्रदेशसभा भवनलाई मतदानस्थल तोकिएको छ ।
यसपटक प्रदेश १ बाट परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ बाट सुमन प्याकुरेल र शशीकला दाहाल, वाग्मतीबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीबाट दिनानाथ शर्मा र शान्तिकुमारी बीसी, लुम्बिनीबाट चन्द्रबहादुर खड्का र कोमल वली, कर्णालीबाट खगेन्द्र पुरी र कविता बोगटी तथा सुदूरपश्चिमबाट शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिँदैछ ।
समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विक, सुदूरपश्चिमबाट चक्रप्रताप स्नेही र लुम्बिनीबाट रामलखन चमार तथा अपाङ्गता वा अल्पसंख्यकतर्फ कर्णालीबाट जीवन बुढा र प्रदेश १ बाट अगम वान्तवाको पदावधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
प्रतिकृया दिनुहोस