राजनीति

माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध, नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए सपथ

काठमाडाैं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

त्यसैगरि आठौं महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई सोमबार निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ ग्रहण गराएका हुन् । उनीहरूले हात उठाएर पार्टीको झण्डा सामु उभिएर शपथ लिएका हुन् ।

सपथ लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाइएको छ । केन्द्रीय कार्य समितिको यो पहिलो बैठकले पदाधिकारीहरु टुंगो लगाउने जनाइएको छ ।

निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठका अनुसार आजको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएपनि पदाधिकारीमा भने सहजै सहमति हुने सम्भावना कम रहेको छ ।

 

काँधमा निकै ठूलो भारी आएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठूलो भारी आएको महसुस भइरहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए ।

उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे । उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत