प्रचण्डका ६ नाम, फेरेका ६ पार्टी
- गाउँ सहर संवाददाता
- २१ पौष बुधबार, २०७८ | १२:३८:०० मा प्रकाशित
काठमाडाैं । भरखरै सम्पन्न भएकाे माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ३२ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहदै आएका प्रचण्ड पुनः अध्यक्षमा चुनिएका हुन् ।
१७ वर्षको उमेरमै २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका प्रचण्ड भूमिगत हुनुअघि शिक्षक हुन् । कम्युनिस्ट राजनीतिमा संलग्न भएको १८ वर्षपछि ३५ वर्षको उमेरमा प्रचण्ड नेकपा मशालको महामन्त्री भएका थिए । विसं २०४६ सालमा नेकपा मशालको प्रमुख भए यताका ३२ वर्ष प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन् ।
पच्चीस वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले नेतृत्व गरेको १० वर्षे सशस्त्र द्वन्द्व नेपालमा ठूलो राजनीतिक परिवर्तन भएकाे छ । प्रचण्डले नेतृत्व गरेको सङ्घर्षमा कैयौँ निर्दोष नागरिकहरू मारिएको, बेपत्ता भएको र विस्थापित भएको विषयमा उनको आलोचना पनि हुने गरेको छ ।
सामान्य परिवारमा जन्मिएका उनी दुई पटकसम्म देशको प्रधानमन्त्री बनिसकेका छन् । उनले लामाे राजनीतिक यात्रामा आफ्नो र पार्टीकाे नाम छ पटक परिवर्तन गरिसकेका छन् ।
प्रचण्डका ६ नाम
प्रचण्डले आफ्नो नाम मात्रै ६ पटक परिवर्तन गरिसकेका छन् ।
नारायणी विद्या मन्दिर चितवनमा कक्षा १० मा पढ्दै गर्दा छविलाल दाहालबाट नाम फेरेर पुष्पकमल दाहाल राखेका प्रचण्डले भूमिगत कालमा आफ्नो नाम पटकपटक परिवर्तन गरे ।
पञ्चायतविरोधी आन्दोलनमा २०३८ सालमै भूमिगत भएका प्रचण्ड एकैपटक २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक भए । उनी ४६ सालको जनआन्दोलन र ४७ सालमा भएको कट्टर वामपन्थी दलहरूको एकतामा पनि सार्वजनिक भएनन् ।
उनी २०४६ सालपछि केही वर्ष अर्ध भूमिगत रहेर जनयुद्ध सुरु भएपछि मात्रै भूमिगत भएका थिए ।
यसबीचमा उनले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखे। त्यसअघि नै उनी छविलालबाट पुष्पकमल बनिसकेका थिए ।
शिक्षक हुँदा योङ कम्युनिस्ट लीग भनिने वाम सङ्गठनमा आबद्ध भएका कारण आफ्नो परिचय नखुलोस् भनेर आफ्नो नाम कल्याण राखे । मसालको केन्द्रीय सदस्य हुँदा उनको नाम विश्वास थियो । वाम एकतापछि पार्टी निर्माणका लागि उनले निर्माण नाम राखेका थिए ।
पछि क्रान्तिकारी नेताको नाम पनि क्रान्तिकारी हुनुपर्छ भनेर प्रचण्ड राखे ।
प्रचण्डले राजनीतिक आदर्श मान्ने गरेका स्टालिनले पनि तीन पटक नाम परिवर्तन गरेका थिए । स्टालिन नाम राख्नुअघि उनको नाम कोबा थियो भने वास्तविक नाम जोसेफ भिसारिओनोभिच जुगासभिली हो ।
उनका अर्का आदर्शपुरुष लेनिनको वास्तविक नाम पनि भ्लादिमिर उलियानभ हो । तर नाम फेर्ने विषयमा प्रचण्डले ती चर्चित नेताहरूलाई पनि पछि पारेको कम्युनिष्ट नेताहरू बताउँछन् ।
प्रचण्डले फेरेका पार्टीका ६ नाम
यहाँसम्म आइपुग्दा उनले पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन् । प्रचण्ड राजनीति सुरु गर्दा तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध भएका थिए ।
उनी २०४६ सालमा पहिलो पटक पार्टी प्रमुख (महामन्त्री) हुँदा उनको पार्टीको नाम नेकपा मसाल थियो । त्यसको दुई वर्षपछि २०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो ।
जनयुद्ध सुरु गर्नुअघि उनले पार्टीको नाम माओवादी राखे ।
संसदीय राजनीतिमा आएपछि उनको पार्टी र एकता केन्द्र मसालबीच एकता भएपछि पार्टीको नाम एकीकृत माओवादी राखियो ।
प्रचण्डले फेरि साना कम्युनिस्ट पार्टीहरूसँग एकता गरेर पार्टीको नाम माओवादी केन्द्र बनाए । तर एमालेसँगको एकता पछि त्यो नाम फेरिएर नेकपा मात्रै रह्यो । पार्टी एकता बदर भएपछि प्रचण्ड पुरानै माओवादी केन्द्रको अध्यक्ष छन् ।(बीबीसी-नेपाली)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस