राजनीति

गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र गठन गर्ने निर्णय

काठमाडौं । गठबन्धनमा आवद्ध दलहरूकाबीच राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीबार बसेको छ । 

बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्री कार्कीले भने,- ‘राष्ट्रिय सभाको निर्वाचन छ, त्यसमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन बैठकले अपिल गरेको छ, साथै ती उम्मेदवारलाई विजयी गराउनका लागि सातवटै प्रदेशमा पाँचदलीय संयन्त्र बनाउने निर्णय भएको छ’ ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । देउवा आगामी आइतबार चार दिने भारत भ्रमणका लागि २५ सदस्यीय टोलीसहित जाँदैछन् ।

गठबन्धनभित्रै विवादका बीच गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजकमा हाल कांग्रेस नेता रामचन्द्र पौडेल छन् । पौडेलले बुधबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर भेटेका थिए ।

बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत