कला

हिँड साथी सँगै खाडी जाऔँ

ओहो ! मनभरी आशा भरोसा बोकेर राजधानी छिरेको पनि ठमेलको उज्यालो दैनिकी र रङ्गीन रात्री जीवनसँग चिरपरीचित हुँदै विदेशी र स्वदेशी पाहुनाहरुको सेवामा मन वचन र कर्मले समर्पित भएको पनि दशक नै भएछ ।

उच्च मनोबलकासाथ सपनाको महलहरु मनैभरी बोकेर घरबाट आमाले झोलामा हालिदिएको दुई मुठा साग, दुई मानाजति कोदोको पिठो, एक पाथी चामल बोकेर म राजधानी छिरेको ती दिनहरुमा म राजधानीलाई पैसा नै पैसाको खानी सम्झन्थेँ । मेरा सपनाहरू पूरा गर्ने थलो सम्झन्थेँ । गाउँका साथीसंगीहरु त्यतिबेलादेखि नै काठमाडौंलाई विदेश जाने थलो बनाएर राजधानी आउँथे । म भने आफ्नै देशमा भविष्य खोज्न राजधानी छिरेको युवा हुँ । विदेश जाने सोच कहिल्यै आएन । कोही गाउँका दाजुभाई विदेश गएको देख्दा किन नेपालमा मान्छे भविष्य देख्दैन ? भन्ने लाग्थ्यो ।

राजधानी छिरेको शुरुका दिन निकै कष्टकर बन्यो । दुब्लो शरीर मरन्च्याँसे अनुहार ठाडो बोली वचन यस्तो मन्छेलाई जागिर सजिलै कसले दिन्थ्यो र ? बिहान बेलुका खाना खान पनि पाइने केही पैसो पनि जुटने । यसो मिलाएर कलेज पनि जान पाइने हुँदा हामी गाउँबाट शहर छिरेकालाई रेस्टुरेन्टमा काम गर्न केही सहज हुने ठानेर ठमेलमा धेरै चाहारियो । बल्लतल्ल  कुनै रेस्टुरेन्टमा वेटर काम शुरु गरियो । अनि त्यही रङ्गिन दुनियाँमा जिन्दगीका कथाहरुको अर्को पाना थपियो ।

मलाई जागिर खाएको लामो समयसम्म पनि  काठमाडाैंको ‘ठमेल’ को रात्री जीवन हेर्दा लाग्थ्यो ‘नेपालमा नि कोही गरिब छ र’? मान्छेहरु साँझ नपर्दैदेखि खानपिन शुरु गरेका छन् । अनी बिहान ‘उज्यालो हुने’ बेला सम्मै पिएका छन् । अनी ‘उफ्रेकै’ छन् । ति ‘साहु’ हरु देख्दा लाग्थ्यो ‘गर्ने हो भने पैसा र कमाई’ किन छैन नेपालमा ? विदेश पलायन हुने युवाहरू देखेर मान्छेहरु किन विदेश पलायन भएका होलान् । आमाले चुमेको चुम्बन र छिमेकी काकीले चुमेको चुम्बन उस्तै हुन्छ र ? इमान अनि जिन्दगी धरौटी राखेर कमाएको पैसाले सुख सयल पक्कै पाईएला तर आफ्नै मनलाई उचित जवाफ दिने शब्द पाईन्छ र ? भन्ने भ्रमहरु मनमा आउँथ्यो ।

काम गर्ने ठाउँ कहिल्यै साहुको जस्तो नलाग्ने मध्यरातमा ड्युटीबाट भोकले रन्थानिदै सोह्रखुट्टेमा आएर ठेलामा मम खाने पैसो नहुँदा भोलिपल्ट घरबेटीलाई दिने घरभाडा गोजीमा नहुँदा चिन्ता हुन्थेन तर कुनै दिन ब्यापार कम भयो भने मन खिन्न हुन्थ्यो । व्यापार धेरै भयो भने मनै फुरुङ्ग हुने यो त स्वर्ग हो यहाँ सबथोक छ भन्ने यही भुलभुलैयाले एक दशक लुट्यो । जीवनको उर्जाशील समय लुट्यो । मजस्ता पोखराको लेकसाइड र ठमेलका बार रेस्टुरेन्टहरुमा काम गर्नेको जिन्दगी यस्तै भुलभुलैयाले लुटेकै छ । भन्ने कुरा निकै ढीलो अहिले आएर बुझ्दैछु । पसिनाको मूल्य नहुने यो शहर चम्चागीरी, चाप्लुसी, नातावाद कृपावादले सङ्कटग्रस्त यी नीजि कम्पनीहरु अनि पसिनाको मात्रै नभै रगतको मूल्य नबुझ्ने यी नेताहरु भएको शहरमा जती नै रगत र पसिना बगाए पनि केही नहुने रहेछ । लेख्न र बोल्न धेरै सजिलो रहेछ । यथार्थ निकै फरक  रहेछ । वास्तवमा साँच्चै जीवनको रहस्य बुझ्न र पैसा कमाउन नेपालमा  नोकरी गरेर केही नहुने रहेछ । खाडी जानु नै सबैभन्दा उत्तम पो हो कि ?

यो वर्ष मात्रै मेरो गाउँठाउँका १५ जना मैले चिनेजानेका भाइहरु भिजिट भिसामा अरब भासिए । उनीहरु भन्छन्- यहाँको ६ महिनाको तलब र परदेशको एक महिनाको तलब बराबर हुन्छ । नेपालमा बसेर दु:ख गर्दा आफूलाई मात्र बचाउन सकिन्छ । बाहिर गयौँ भने परीवारलाई पनि बचाउन सकिन्छ । कति गर्छौ दाजु नेपालमा काम ? आउ खाडी राष्ट्रवादी बनेर । सधैँ देशमै केही गर्छु भन्ने सोच बोक्यौ भने तिम्रा हातखुट्टा चल्न छाडेको दिन तिम्रो अनुहारमा रगत र मुस्कान आउन छाडेका दिन तिम्रा परिवार भोकै हुन्छन् । तिमीलाई कसले दिन्छ जागिर ? साथीहरूले यसो भन्दा मनै भरङ्ग हुन्छ । अनि सोच्छु- अब घमण्ड, अहंकार, ठूलोपन होइन हिम्मत, मन, सोच र राष्ट्र भाव बोकेर मैले आफ्नै देशमा काम गर्न कसले रोक्छ ? हिम्मत हारेर हाेइन जितेर यहि देशमा केही गर्छु अनि व्यवसाय गर्न आट गरौँ भन्छु ।

खाडी जान्छु भन्दा २ लाख र जापान जान्छु भन्दा १० लाख दिन तयार हुने यो समाज आफ्नै देशमा काम गर्छु १ लाख नदिने समाज देखेर म अवाक भएको छु । आज म जस्ता नेपालमा हुने युवा यस्तै मनोदशाबाट आक्रान्त छ । देशमा राजनीतिक स्थिरता भईदिएको भए, सु-शासन, शान्ति सुरक्षा मज़बूत भईदिएको भए देशमा बसेर केही गर्ने आशा जाग्थ्यो होला । सम्भावना खोजिन्थ्यो होला । दुर्भाग्य सबैतिर निराशा मात्र छ । काला बादलहरु मडारिएको छ । त्यसैले होला सबैले आ-आफ्नो बाटो खोज्दैछन् । युरोप, अमेरिकादेखि खाडीसम्मको ।

नेपालमा नै केही गर्छु भन्ने हरेक युवाहरूलाई अहिले म यहि भन्छु- बुवाको नामको खेत बेचेर शिक्षा हासिल गरेर के गर्नु  हुन्छ मित्र ? कहाँ कसरी सुरक्षित छ । तपाईँको यो देशमा भविष्य ? अहिले जतिनै पढेपनि पछि आमाको तिलहरी बेचेर खाडी गएको तपाईंको साथीको हालत देख्नुभएकै होला ? तपाईँलाई थाहा छ साथी अनियन्त्रित महङ्गी कति छ ?  के तपाईँले अधिकृतस्तरको जागिर नै खाएपनि यहाँ सहज रुपमा दुई छाक खाएर बालबच्चालाई शिक्षादिक्षा दिने क्षामता हुन्छ त ? अनि तपाईँको बालबच्चा पढाउन शिक्षामा सरकारकाे गैरजिम्मेवारीले गर्दा के नेपालको शिक्षा तपाईँको पहुँचमा छ ?

साथी, संभ्रान्त परिवारका शिक्षित व्यक्तिहरूले तपाईँको प्रत्येक पलपललाई लुटेको पत्तै छैन । नेपालका कलकारखाना समाप्त बनाएर ५० लाख युवाहरुलाई खाडी जान बाध्य गराउने नाङ्गो समाजवादकाे नारा लगाउने पार्टीहरुको पछि लागेर तपाईँको बलिको बोका कहिलेसम्म यहाँ भौतारिरहनुहुन्छ ? दुर्गमका लगभग ६० हजार भन्दा धेरै जनता चामलको लागि  तीन महिनादेखि पर्खिरहँदा तिम्रा, विदेश उपचार गराउन जाने नेताको पछि लागेर उनको भजन गाएर किन यो देश बस्छौ । हिँड, साथी सँगै खाडी जाऔँ ।

तपाईँको मत