गाउँ सहर

एमालेका कार्यकर्ता पुन ठगी मुद्दामा पक्राउ

काठमाडाैं । ठगी मुद्दाका एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुन रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको जानकारी दिएकाे छ । 

कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दाबी छ ।

गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन् । खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए ।

विकासविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए ।

विकास नेकपा एमालेका कार्यकर्ता हुन् । राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको एक प्रहरी अधिकृत बताएका छन् ।

विकासलाइ काठमाडाैंबाट दाङ ल्याएर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत