खेल

मैत्रीपूर्ण खेल : दाेस्राे जितकाे खाेजीमा नेपाली राष्ट्रिय फुटबल टिम, बदला लिने पक्षमा मरिसस

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध खेल्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फेरि एकपल्ट मोरिससविरुद्ध दोस्रो जितको लक्ष्यसाथ मैदानमा उत्रँदै छ ।

स्ट्राइकर विमल घर्तीमगरले गोलसँगै २७ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गररेपछि नेपालले शनिबार पहिलो खेलमा मोरिससलाई १–० ले हराएको थियो । 

यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । प्रशिक्षक अल्मुताइरीले मिडफिल्डर मनीष डाँगी र स्ट्राइकर दर्शन गुरुङलाई मोरिससविरुद्धको दोस्रो खेलमा अवसर दिएका छन् । यसअघि दुई खेलका लागि ३४ खेलाडीको बेग्लाबेग्लै टिम घोषणा गर्दा मनीष र दर्शन पहिलो खेलका लागि मात्रै टिममा समावेश गरिएको थियो । पछि अल्मुताइरीले पहिलो खेलमा दर्शनको स्थानमा प्रशान्त अवस्थीलाई ल्याए । दोस्रो खेलको सूचीबाट पहिलो खेलको सब्स्टिच्युटमा ल्याइएका प्रशान्तले राष्ट्रिय टिमबाट डेब्यु गर्न भने पाएनन् । दोस्रो खेलमा उनकै स्थानमा दर्शनलाई राखिएको छ । डिफेन्डर अनन्त तामाङलाई चोटको कारण गुमाएपछि मनीषले दोस्रो खेलको टिममा पनि अवसर पाएका छन् ।

नेपाली टोली :

किरण लिम्बु,  विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत