गाउँ सहर

बढ्याे फेरि पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२५ रुपैयाँ तोकिएको छ ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

साथै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ तय गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी १,०९५ कायम गरिएको छ ।

आजको मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा २ अर्ब ६० करोडबाट ३७ करोडले घटेको निगमले जनाएको छ । तर, अझै १५ दिनमा निगमलाई २ अर्ब २३ करोड घाटा भइरहेको निगमको विज्ञप्तिमा भनिएको छ । 

एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर ८१ रुपैयाँ ६२ पैसाले घटेर घटेर आए पनि अझै निगमलाई प्रति सिलिण्डर ५ सय ६० रुपैयाँ घाटा हुँदासमेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमका सह–प्रवक्ता पुष्कर कार्कीले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत