दलहरूकाे स्वार्थले संसद बैठक सरेकाे सरेकै, अर्को बैठक फागुन २ गते
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | ०६:३९:०० मा प्रकाशित
काठमाडाैं । आज (माघ २६ गते) बस्ने तय भएको प्रतिनिधि सभाको बैठक फेरि ६ दिनका लागि सरेको छ । प्रतिनिधि सभाको बैठक फागुन २ गते सम्मका लागि स्थगित गरिएको हो ।
आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदीय प्रक्रिया (प्रतिनिधि सभा बैठकमा टेबल गर्ने प्रक्रिया) अगाडि बढाउन खोजेको चर्चा चलेको बेला बैठक फेरि स्थगित भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको थिएन । एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ ।
मंगलबार मात्रै सभामुखको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । उक्त कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन ।
सम्भावित कार्यसूची जारी गरेपछि सभामुख सापकोटाले बुधबार बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । उक्त बैठकमा सरकारको तर्फबाट मन्त्री बडूले एमसीसी टेबुल गर्ने विषय राख्ने तयारी थियो । प्रधानमन्त्री देउवाले मंगलबार साँझ मन्त्री बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको हो ।
यसअघि पनि विभिन्न मितिको लागि बैठक तय हुने गरी पनि बस्दै नबसी स्थगित हुँदै आएको छ ।
लामो समयदेखि विवादको घेराभित्र रहेको एमसिसी परियोजनाबारे सभामुख अग्निप्रसाद सापकोटा सकारात्मक नभएको आरोप प्रतिपक्षी दल एमालेले लगाउँदै आएको छ । त्यसो त एमालेले आफ्ना तत्कालीन सांसदहरुलाई कारबाही गर्न गरेको सिफारिस नमानेको भन्दै सभामुख सापकोटाको राजीनामा नै मागेको छ । उनै सापकोटाले सरकारको आग्रहमा पुनः संसद बैठक स्थगित गरेका छन् ।
सभामुखकै भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । अर्कोतिर, सभामुख सापकोटा पटक–पटक विभिन्न कारण देखाउँदै संसद बैठक स्थगित गरिरहेका छन् ।
गत भदौको अन्तिम साता सुरु भएको संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले संसदमा अवरोध पुर्याउँदै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका सांसदहरुको सूची टाँस नगरेको र पार्टी फुटाउन सभामुखको समेत भूमिका रहेको आरोप एमालेले लगाउँदै आएको छ ।
एमसिसीको निर्णायक क्षणसँग सभामुखको पद र गठबन्धनको भविष्य समेत जोडिएर आएकै छ ।एकातिर एमालेले आफ्नो स्वार्थ बोकेर संसद अवरोध गरिरहने, अर्कोतर्फ एमसिसी टेबल हुँदा आउने समस्या दर्साएपछि खुरुक्क संसद बैठक स्थगित गर्नुले जनस्तरका गुनासा पनि ओझेलमा परेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस