खेल

चारदेशीय टी–ट्वान्टी सिरिज खेलमा नेपालले युएईलाई जित्न सकेन

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आज भएकाे खेलमा नेपालले युएईलाई जित्न सकेन । 

ओमानको मस्कटमा भएको खेलमा नेपालले युएईविरुद्ध २५ रनको पराजय भोगेको छ । 

युएईले दिएको १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन जोड्न सक्यो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे भने डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे । बमले दुई चौका र दुई छक्का हिर्काए । 

आसिफ शेखले २९ बलमा ३४ रन, ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन, आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे । 

युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात पारे । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत