प्रेरणा

भ्यालेन्टाइन डेः किन र कहिलेदेखि ! प्रेम र रोमान्सका अवसरमा प्रयोग गरिने विभिन्न रंगहरू कस्ता ?

काठमाडाैँ । फेब्रुअरीको महिना त्यसैपनि प्रेमको महिना भनिएको होइन । गुलाबी चिसो, जहाँतहिँ फूलको बहार र खानापिनाको लागि माहौल । यही समय हो तपाईंका दुःख विर्सिएर नयाँ रंग भर्ने । आज प्रणय दिवस वा प्रेम दिवस (Valentine's Day), १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । पछिल्ला दशकहरूमा यसकाे क्रेज नेपालमा पनि उत्तिकै बढेकाे छ ।

  1. लगभग आजबाट चिसो मौसम क्रमश ततोमा रुपान्तरण हुन्छ । अब तपाईं आफ्नो घरमा उज्यालो अर्थात शक्तिलाई आउन दिनुपर्छ । घरमा उज्यालो, फूलवाला पर्दा लगाउनुहोस् । दिनको समय ढोका खोलेर हावालाई भित्र आउन दिनुहोस ताकि घरभित्र अक्सिजनको सही प्रवाह हुन सकोस् ।
  2. फूलको बहारले घरभित्र पनि हरियाली आउँछ । एरिका पाम, बुद्धा बेली, एरोकेरिया जस्ता विरुवाहरु छन जसले घरभित्र अक्सिजन प्रवाहमा सहयोगी हुन्छ । तर साताको एकदिन भने घामको ताम देखाउनु आवश्यक छ ।
  3. आफ्नो घरको केही खास कुनामा ममबत्ती र उज्यालो बनाउनुहोस् । यसले घरमा उर्जा प्रवाहित गर्दछ ।
  4. आफ्नो कोठामा खासगरि ड्राइङ्ग रुमका भाँडामा पानी भरेर फूल राख्नुहोस् । यसमा तपाईंले सेन्ट या प्राकृतिक वासनापनि राख्न सक्नुहुन्छ ।
  5. पहेँलो, निलो, मरुन, सुन्तले राख्नुहोस् । यी रंगले घरमा चमकसहित रौनकता बनाउन सहयोग पुर्याउँदछ ।

हरेक रंगको आ–आफ्नै महत्व हुन्छ र हाम्रो जीवनमा तिनको अर्थ पनि त्यहीअनुरूप अर्थ लाग्छ । प्रेम र रोमान्सका अवसरमा प्रयोग गरिने विभिन्न रंगले आफ्नो छुट्टै विशेषता दर्साउँछ ।

रातो : रातो रंगलाई यो अवसरमा उमंग, उत्साह, जीवन, प्रेम, रोमान्स र कामुकताप्रतिको चाहनाका रूपमा लिइन्छ । रातो गुलाफको फूल, रातो रंगको पहिरन तथा रातो रंगको आवरणले सजाइएका उपहारहरूले प्राथमिकता पाउने गरेका छन् । रातो रंगले उपहार दिने व्यक्तिको आत्मीयता, प्रगाढता तथा समर्पणलाई प्रेमी वा प्रेमिका समक्ष सम्प्रेषण गर्छ । 

गुलाफी : यो अवसरमा गुलाफी रंगले ताजापन, माया, आत्मीयता, समझदारी तथा प्यारोपनको अभिव्यक्ति दिन्छ । गुलाफी रंग प्रेम दिवसका लागि उत्कृष्ट छनौट बन्न सक्छ जसमार्फत कसैप्रति आफ्नो मनमा रहेको प्रेम अभिव्यक्त गर्न सहयोग मिल्छ । यो रंगले जीवनमा मायाको मात्रा बढाउने कार्य गर्छ ।

सुन्तला : माया–पिरतीको यो वातावरणमा सुन्तला रंगले शक्ति, सिर्जनात्मकता एवं व्यावहारिकताको परिचय दिन्छ । यसले खुसीलाई पनि प्रतिविम्बित गर्छ र मनोवैज्ञानिक तरिकाले उत्प्रेरित गर्ने कार्य गर्छ ।

पहेंलो : यो रंगले प्रेरणा, निरन्तरता, संवाद र इमान्दारितालाई इंगित गर्छ । यो रंगको ऊर्जा र जीवन्तताले संवाद र सामीप्यतालाई प्रेरित गर्छ । अत: आफूलाई मन परेको व्यक्तिसामु आफ्नो मनको भावना व्यक्त गर्दा मधुरो पहेंलो रंग देखिने मैनबत्तीको उज्यालोमा गर्नु उपयुक्त हुन्छ । प्रेमदिवसको अवसरमा पहेंलो रंगको पोसाक विशेषत: युवतीहरूका लागि अनुकूल मानिन्छ ।

नीलो : हल्का नीलो रंगले सिर्जनात्मकता, स्वीकार एवं संवेदनशीलतालाई परिभाषित गर्छ । यसले शान्त वातावरण सिर्जना गर्न र आफ्ना भावनाहरूलाई सन्तुलित राख्न मद्दत गर्छ । यो रंगले ताजापनलाई कायम राख्छ । गाढा नीलो रंगले बुद्धिमता, आत्मनिर्भरता र आत्मीयतालाई अभिव्यक्त गर्छ । नीलो तथा हरियोको मिश्रणले भावना अभिव्यक्तिलाई सहजता प्रदान गर्छ । गाढा नीलो रंगलाई विशेषत: पुरुषहरूका लागि प्रेम दिवसको प्रतीकात्मक रंग मानिन्छ ।

हरियो : ग्रिनले मानवता, सजगता र समर्पणलाई प्रेरित गर्छ । यसले सम्बन्धमा सजगतालाई प्रवद्र्धन गर्छ अनि समझदारीलाई बढावा दिन्छ । प्रेम दिवसमा पुरुषका लागि गाढा हरियो रंगको सर्ट तथा महिलाका लागि हल्का हरियो रंगको पहिरन उपयुक्त मानिन्छ ।

प्याजी : प्याजीले अनुरागलाई जनाउँछ र यसले रोमान्समा मुख्य भूमिका निर्वाह गर्छ । यो रंग शुद्ध रूपमा महिलाहरूलाई इंगित गर्ने रंग हो । हल्का हरियो रंगको पहिरनले सुन्दरता थप्छ ।

सेतो : यो अवसरमा सेतो रंगलाई निर्मलता, आशावादिता एवं निश्छलताको प्रतीकका रूपमा लिइन्छ । आफ्नो प्रियतमलाई सेतो गुलाफ दिनुको अर्थ हुन्छ हाम्रो प्रेम शुद्ध छ । पुरुष तथा स्त्री दुवैले प्रेम दिवसमा सेतो रंगको पहिरन लगाउन सक्छन् ।

खरानी : खरानी रंगले मूल्यांकन गर्न सक्ने क्षमता एवं असंलग्नतालाई दर्शाउँछ । अत: यो रंग सम्भवत: प्रेम दिवसका लागि उपयुक्त नहुन सक्छ । आफैंमा राम्रो सेड भए पनि यसले प्रेम दिवसमा ताजापन प्रदान नगर्न सक्छ । महिलाका लागि यो रंग सही नहोला तर पुरुषका लागि भने यो रंगको पहिरन उपयुक्त हुन सक्छ । 

कालो र खैरो : कालो र खैरो रंगलाई पुरुष पहिरनमा समावेश गर्न सकिन्छ । कालो रंगले स्वतन्त्रता, अधिकार र उदार चरित्रलाई प्रतिबिम्बित गर्छ भने खैरो रंगले इमान्दारितालाई इंगित गर्छ । प्रेम दिवसमा महिलाहरूको पहिरनमा नारीत्व झल्कने कुरालाई प्राथमिकता दिनुपर्छ ।

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ, जुन सुधारिनु अपरिहार्य छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत