राजनीति

कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको पूर्ण बैठक आवहान

काठमाडाैं । सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएकाे छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका हुन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने जनाइएकाे छ । न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लागे पनि उनको पूर्ण बहिर्गमन नभएसम्म नेपाल बार एसोसिएसनले आन्दोलन जारी राख्ने बताएकाे छ । बारले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई लिखितरुपमा पत्र लेख्दै मध्यान्ह १२ बजेसम्म इजलास नराख्न आग्रह गरेका थिए । सोही आग्रह बमोजिम नेपाल बार एसोसिएसनको अगुवाइमा १२ बजेसम्म सर्वोच्च अदालतभित्रै आन्दोलन हुँदै आएको छ भने सर्वोच्चमा १२ बजेपछि मात्रै इजलास बस्ने गरेको छ ।

सोमबारका लागि पनि १२ बजे नै इजलास बस्ने सर्वोच्च अदालतले जानकारी दिएकाे छ । यद्यपि नेपाल बार एसोसिएसनसँग छलफल गरी अब बिहान ११ बजेदेखि नै इजलास राख्ने तयारी भइरहेको एक न्यायाधीशले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत