गाउँ सहर

३३ लाख ठगी गर्ने एक जना प्रहरी नियन्त्रणमा, एक अझै फरार

काठमाडाैं । प्रहरीले रकम ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेकाे छ ।  कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई छुटाइदिने प्रलोभनमा ठूलो रकम ठगी गर्ने एक व्यक्तिलाई सुनसरीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । 

पक्राउ पर्नेमा इटहरी–२० का ३९ वर्षीय जसबहादुर लिम्बू रहेका छन् । 

लिम्बू र इटहरी–१२ का भरत चौधरीले न्यायाधीश र प्रहरीसँग राम्राे सम्बन्ध रहेको भन्दै अभियुक्तका परिवारसँग ३३ लाख रुपैयाँ ठगी गरेकाे र चौधरी भने फरार रहेकाे प्रहरीले जनाएकाे छ । 

पक्राउ परेका लिम्बू र फरार चौधरीले कर्तव्य ज्यान मुद्दामा तेर्‍हथुम कारागार चलान भएका अभियुक्त दाजुभाइ सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई छुटाउन परिवारसँग उक्त रकम ठगी गरेकाे प्रहरीले जानकारी दिएकाे हाे । प्रहरी उपरीक्षक थापाले खनारमा बसोबास गर्दै आएका सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसँग लिम्बू र चौधरीले विभिन्न समयमा रकम लिएको जानकारी दिएका छन् । ताराले उक्त रकम सम्बन्धित दुवै व्यक्तिलाई भेटेर र आईएमईमार्फत बुझाएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरीले जनाएकाे छ । 

हालसम्म पनि पुरी दाजुभाइलाई कारागारबाट बाहिर निकाल्न नसकेपछि ताराले घटनाबारे प्रहरीलाई जानकारी गराएकाे प्रहरीले बताएकाे छ । 

सुनसरी अदालतबाट म्याद थप गरेर लिम्बूमाथि थप अनुसन्धान गरिने र उनलाइ ठगी मुद्दामा जेल चलान गरिने प्रहरीले जनाएको छ  ।

गाउँ सहर संवाददाता

तपाईँको मत