प्रविधि

नेपाल राष्ट्र बैंकले ल्यायाे काम नलाग्ने नोट नष्ट गर्ने आधुनिक मेसिन

काठमाडाैं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको छ । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा आज औपचारिक शुभारम्भ भएको छ । 

विराटनगरमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेका छन् । चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत् स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको केन्द्रीय बैंकले जानकारी दिएकाे छ । 

सोही अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको भन्दै अधिकारीले बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाए । 

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिएका छन् । सोही अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको उल्लेख गरे । 

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयकी निर्देशक मीना पाण्डेका अनुसार, बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गरिने बताइन् ।

उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । 

यस्तो टुक्राको औसत आकार ६x६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।  बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोग गर्न सकिन्छ ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । बीएसबीएसमार्फत नोट  धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी हुने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत