राजनीति

सांसदहरु तपाईं हामी भेडाबाख्रा होइनौँ, एमसीसीसँग सम्बन्धित सम्पूर्ण दस्तावेज यो सदनले हेर्न पाउनुपर्छ : झलनाथ खनाल

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसीसीसँग भएका सम्पूर्ण दस्तावेज सदनमा वितरण गर्न समेत आग्रह गरेका छन् । सांसद भेडाबाख्रा नभएको भन्दै उनले देशका लागि हुने सम्झौता सबैले हेर्न पाउनुपर्ने उल्लेख गरेका छन् । 

‘सांसदहरु तपाईं हामी भेडाबाख्रा होइनौँ । हामीले देशका लागि हुन लागेको सम्झौता हेर्न पाउनुपर्छ । सभामुख महोदय, म तपाईंलाई पनि आग्रह गर्दछु’, खनालले भने, ‘एमसीसीसँग सम्बन्धित सम्पूर्ण दस्तावेज यो सदनले हेर्न पाउनुपर्छ।’

नेता खनालले आफ्नो पालमा एमसीसी सुरु भएको भन्दै हल्ला चलाएकोप्रति आपत्ति जनाएका छन् । खनालले सदमा हुने व्याख्यात्मक टिप्पणी अमेरिका र एमसीसीले स्वीकार गर्ने ग्यारेन्टी गर्न समेत सरकारसँग माग गरेका छन् । 

सम्झौता अगाडि बढाउँदा सुरक्षा, सामरिक महत्वलाई सरकारले गहन ढंगले हेर्नुपर्ने उनको भनाइ छ । परियोजना कार्यान्वयनमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकमाथि निगरानी गर्न नसक्ने व्यवस्था स्वीकार्य नहुने उनको भनाइ छ ।

संसदले अनुमोदनको विषयलाई नाटकजस्तो बनाउनु नपर्ने उनको भनाइ  छ। ‘हामीले अनुमोदन गरेपछि संशोधन गर्नुपर्ने भए दुवै देशको समान अधिकार आवश्यक छ । एकतर्फी ढंगले संशोधन भए यो अनुमोदनको कुनै अर्थ हुँदैन’, खनालले भने ।

सम्झौतामा देखिएका विवादित धारालाई सच्याएर मात्र अनुमोदन गर्न सकिने उनले बताए । ‘यथास्थितिमा नो एमसीसी’, उनले भने, ‘व्यापक संशोधन भए मात्र अनुमोदन गर्न सकिने छ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत