राजनीति

एमसीसी पारितपछि प्रचण्डकाे जवाफ : गठबन्धन बच्याे, निर्वाचन सुनिश्चितपछि एकताकाे सन्देश

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि दलहरूबीच नयाँ एकता भएकाे बताएका छन् ।

आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै सत्ता गठबन्धनबीच सहकार्यका लागि थप बल पुगेकाे बताए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्नुपर्ने पनि बताए । अध्यक्ष प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गरेका छन् । यो विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनको भनाइ छ ।

 ‘अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरुले मलाई यस्तो उपाय सुझाएपछि मलाई ‘इन्लाइटेन’ जस्तो भयो । भियना अभिसन्धीअनुसार यसो गर्न सकिने रहेछ । म छ्याङ्ग भएपछि पार्टीमा प्रस्ताव राखेको हुँ’ उनले भने ।

“नेपालको सार्वभौम प्रतिनिधिसभाले त्यो सम्झौता र यो घोषणा एकैपटक पास गरेको छ । दुईवटा अलग–अलग प्रस्ताव बनाएर होइन । यो अभिन्न अंग बनिसक्यो,” प्रचण्डले भने । 

अब स्थानीय तहको निर्वाचन पनि सुनिश्चित भएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उनको भनाइ थियो ।

सत्तारुढ गठबन्धनमै एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले विभाजनको अवस्थासम्म आइपुगेको थियो । तर, अन्तिममा एमसीसीको व्याख्यात्मक घोषणासँगै आइतबारको प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको हो । योसँगै अब देश स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुने दलका नेताहरूको भनाइ छ ।

प्रचण्डले एमसीसी पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताए ।

“यसलाई एउटा निकास दिइएको छ । निकास दिनु अगाडि राजनीतिमा के होला, के नहोला ? गठबन्धन बच्ला नबच्ला ?, यो सरकार बच्ला या नबच्ला भन्ने थियो,” उनले भने,“ अर्को समीकरण बन्ने हो कि भन्ने थियो । हिजोबाट आधारभूत र मुलभुत रुपले अहिलेका लागि ति सबै अन्योलको अन्त्य भएको छ । गठबन्धन कायम रहन्छ । सरकार अघि बढ्छ ।”

गाउँ सहर संवाददाता

तपाईँको मत