राजनीति

संसदकाे चुनाव मंसिर अगाडि नै हुनसक्छ, चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम निर्वाचन मंसिरअघि नै हुनसक्ने बताएका छन् । उनले नेकपा एमालेले संसद् अवरोध गर्दै गए त्यो सम्भावना रहेको बताएका हुन् ।

एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ । शनिबार काठमाडौंमा कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले स्थानीय तहको निर्वाचन भने बैशाख ३० गते नै हुने उल्लेख गरे । 

उनले एमालेले गरिरहेको संसद् अवरोधको सन्दर्भमा आफूहरुले संवाद गरिरहेको बताए। फकाउने कोसिस गरिरहेको, संसद्‌मा आउनुस् भनिरहेको उनको भनाइ छ। आम चुनावमा यस पटक आफूहरुले सानदार ढंगले जितेर आएर पाँच वर्ष सरकार चलाउने उनले बताए।

नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको पनि उनको भनाइ थियो ।

'हामीले सरकार बदलियोस् भन्ने चाहन्थेनौँ । अरुलाई उचाल्दिए र भत्काए पुग्छ, कांग्रेसलाई सम्हाल्नुपर्छ,' थापाले भने । थापाले अगाडि भने, 'प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो तर उसले चलाउन सकेन । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो । आगो लगाउनेहरूमध्ये एकथरीले खरानी घसेर देखाइदिने हो भन्दै बाहिर आए । एकथरीले खरानीको थुप्रोमा बसेर अट्टहास गरेर हामीले जित्यौँ भन्दैछन् ।'

गाउँ सहर संवाददाता

तपाईँको मत