अस्थिर नीतिको कारण मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न सकेन - वरिष्ठ उपाध्यक्ष ढकाल
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण शनिबार, २०७८ | २०:४२:०० मा प्रकाशित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन् ।
“मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सृजनाका लागि दिगो र स्थिर नीति जरुरी हुन्छ । हामीकहाँ छोटो छोटो समयमा नीतिहरु परिवर्तन भइरहँदा दिगो औद्योगिक विकासको सट्टामा छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायीहरु लाग्ने गरेको देखिन्छ । यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन,” उनले भने ।
शनिबार शिदार्थ उद्योग वाणिज्य संघको ६३औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नयाँ नीति तथा कानुन बनाउँदा सम्बन्धित सरोकारवालाहरुसँग गहन छलफल गर्न आवश्यक रहेको बताए ।
“अहिले सरसर्ति हेर्ने हो भने कुनै पनि व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको देखिन्छ । यसले गर्दा धेरै व्यवसायी साथीहरु आतंकित भएको जस्तो पनि देखिन्छ । केही समय पहिले नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्रीहरुलाई राखेर एउटा छलफल कार्यक्रम गरेको थियो । त्यहाँ यो अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको कुरा आएका थिए,” उनले भने ।
अहिले बजारमा देखिएको तरलताको अभाव भनौँ वा आर्थिक गतिविधिमा देखिएका मन्दिहरु सबै अस्थिर नीतिसँग जोडिएका छन्, उनले भने, यसले आम व्यवसायीलाई भय र त्रासको वातावरण बनाएको छ ।
सरकारी राजश्व संकलनमा निजी क्षेत्रको ठूलो भूमिका रहेका बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले नयाँ नीतिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति निर्माणमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने बताए ।
“सरकारी राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ । यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ । यो धेरै नै महत्वपूर्ण छ । कतिपय नीतिहरु सम्बन्धित सरोकारवालाहरुसँग छलफल नै नगरी आउने गरेकाले यसले आम पब्लिकलाई पनि फाइदा पुगेको देखिँदैन, व्यवसायीहरुको पनि अपनत्व हुँदैन र सरकारले पनि चाहेजस्तो प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको अवस्था रहेको छ,” उनले भने ।
त्यसैले नयाँ बन्ने नीतिको दिगोपन तथा स्थिरताका लागि पनि निजी क्षेत्र र सम्बन्धित सरोकारवालहरुसँग गहन छलफल गर्नुपर्ने उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस