शिक्षा

आंशिक प्राध्यापक र त्रिवि आयोगबीच चार बुँदे सहमति, ताला खुल्ने

फाइल तस्बिर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र त्रिवि सेवा आयोगबीच चार बुँदे सहमति भएकाे छ । 

सहमतिसँगै आंशिक प्राध्यापकहरु सेवा आयोगमा लगाएको ताला खोल्न सहमत भएका छन् ।

बुधबार विश्वविद्यालयको वार्ता टोलीसँगको छलफलपछि उनीहरु त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न सहमत भएका हुन् ।

त्रिवि र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच भएको चार बुँदे सहमतिको चौथो बुँदामा सेवा आयोगमा गरिएको तालाबन्दी, धर्नालगायतका विरोधका कार्यक्रम फिर्ता लिने उल्लेख छ ।

आंशिक प्राध्यापकलाई विशेष व्यवस्था गरी करार र स्थायी गर्नुपर्ने माग राख्दै आंशिक प्राध्यापकहरुले त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका थिए । तर उनीहरु पनि खुला प्रतिस्पर्धाबाट प्राध्यापक छनोटका लागि सहमत भएका छन् ।

त्रिवि सेवा आयोगले शिक्षकहरुको स्थायी र पदन्नोतिका लागि लिने आगामी परीक्षाको पाठ्यक्रम तथा मूल्यांकन परिमार्जन गर्न स्वतन्त्र विज्ञ समूह गठन गर्ने सहमति भएको छ । यस्तो विज्ञ समिति १५ दिनभित्र गठन गर्न त्रिवि सेवा अयोगलाई अनुरोध गर्ने त्रिवि र आंशिक प्राध्यापकबीच सहमति भएको छ ।

त्यस्तै त्रिवि सेवा आयोगले चैत महिनामा सञ्चालन गर्ने उपप्राध्यापक पदको परीक्षा पनि पछि सार्ने सहमति भएको छ । सहमति अनुसार ३० वैशाख २०७९ को स्थानीय चुनावअघि प्राविधिक विषयको परीक्षा र चुनावपछि अन्य विषयको परीक्षा सञ्चालन गरी त्रिवि सेवा आयोगले पुनः परीक्षा तालिका प्रकाशन गर्नुपर्ने भएको छ ।

चार बुँदे सहमति पत्र

गाउँ सहर संवाददाता

तपाईँको मत