राजनीति

रामेछापमा कांग्रेसको चुनावी अभियान सुरु

रामेछाप । नेपाली कांग्रेसले हिमाली जिल्ला रामेछापमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान आइतबारदेखि सुरु भएको हो ।

अभियानको केन्द्रीय प्रतिनिधि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच उदघाटन गरेका हुन् ।

कार्यक्रम उदघाटन गर्नुअघि कांग्रेसले मन्थलीमा र्‍यालीसमेत निकालेको थियो । अभियानको सुरुवात गर्दै नेता काफ्लेले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिबद्धतासहित अभियानमा जुटन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, सचिव दिपक खड्का, निवर्तमान कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठ लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

काग्रेसले यसअघि रामेछापको आठ वटै स्थानीय तहको अभियान संयोजक समेत तोकिसकेको छ । सोही प्रतिनिधिहरुको नेतृत्वमा घर घर पुग्ने अभियान तय गरेको पार्टी सचिव दीपक खड्काले बताए । जिल्ला पदाधिकारी, क्षेत्रिय, वडा कार्यसमिति, भातृसंगठनका प्रतिनिधिहरुकोसहितको प्रशिक्षण समेतको अभियानमा आउँदो चुनावमा कुनै पनि हालतमा जित्नुपर्नेमा सबैकाे एकमत छ ।

चुनावमा पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्नेमा सबैकाे जाेड थियाे ।  

गाउँ सहर संवाददाता

तपाईँको मत