राजनीति

कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने, माओवादी केन्द्र र माधवहरू समाप्त हुने

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका हुन् ।

अध्यक्ष ओलीले कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । साथै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दावी पनि गरे ।

कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताइसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनको तर्क थियो । अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाइदिएको र माधव नेपालहरु अबको निर्वाचनपछि समाप्त हुने बताए ।

नेता ओलीले सत्तारुढ दलहरुको निदहराम हुने गरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए । अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनले दोहोर्‍याए ।

अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षड्यन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरि हटनु नपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जीत हासिल गर्नुपर्ने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत