गाउँ सहर

गलफ्रेण्डकाे निउँमा शंखमुलमा १० जनाको समूहले एक युवकमाथि खुकुरी प्रहार, पाँच जना पक्राउ

काठमाडाैं । शंखमुलमा १० जनाको समूहले एक युवकमाथि खुकुरी प्रहार गरेका छन् । काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिउँसै १० जनाको समूहले एक युवकलाई खुकुरी प्रहार गरेका हुन् । हिजाे खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्का घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सुरजलाई खुकुरी हान्ने मध्येका पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र  सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र  खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  शंखमुल स्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा.९३ प २२९ नम्बरको मोटरसाइकल, दुईओटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए । खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ ।

खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी र दोलखा बैत्यश्वर गाउँपालिका घर भएका विकास लामा फरार छन् । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको बिचमा लेनदेन विवाद पनि देखिएको प्रहरीले जनाएकाे छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत