राजनीति

चुनावी तालमेलमा दुई महामन्त्रीको फरक कुरा

काठमाडाैं । स्थानीय तहकाे निर्वाचनका लागि गठबन्धन गर्नेबारे नेपाली कांग्रेसका दुई महामन्त्रीको मत बाझिएकाे छ ।

महामन्त्री गगन थापाले आफू गठबन्धनका पक्षमा नरहेको र यसले कांग्रेसलाई फाइदा नगर्ने बताए । तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आवश्यकताका आधारमा गठबन्धन गरेर जान सकिने बताउँछन् ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने भएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका हुन् ।

थापाले कम्युनिष्ट होइन एजेन्डा बोकेर चुनावमा जान प्रस्ताव गरेका छन् । थापाले कम्युनिष्टहरुको भारी बोकेर चुनावमा गए त्यसले लाभ भन्दा धेरै क्षति पुर्‍याउने चेतावनी समेत दिएका छन् । 

उनले पार्टीको आन्तरिक एकता सुदृढ बनाएर चुनावमा गए विगतमा थोरै मतान्तर भएका अधिकांस क्षेत्रमा चुनाव जितिने बताए । उनले त्यस्तो गर्दा कांग्रेस एक्लैको ५० प्रतिशत भन्दा बढी स्थानीय तहमा प्रतिनिधिहरु निर्वाचित हुने दावी समेत गरे । 

कांग्रेसले चुनाव अघिको गठबन्धन कांग्रेससँग गर्न चाहेको भए पनि निर्वाचनपछिको गठबन्धन कांग्रेससँगै गर्छ भन्ने ग्यारेन्टी नभएको बताए । 

तर महामन्त्री शर्माले भने ०७४ मा पार्टीले धेरै सिट हारेकोले जित्नका लागि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने बताएका छन् ।

महामन्त्री शर्माले अहिले कांग्रेस हिजोभन्दा बलियो अवस्थामा पुगेको बताए । ‘कांग्रेसले महामारीका बेला जनताको दुःखमा साथ दिएको छ, एमसीसी पास गरेर नेपालीको समृद्धिको सपनालाई अघि बढाएको छ, संविधान र लोकतन्त्रको रक्षाका निमित्त कांग्रेसले भूमिका खेलेको छ,’ उनले भने, ‘त्यसैले कांग्रेसभन्दा बलियो र स्थिर शक्ति अर्को छैन ।’

कांग्रेसले गठबन्धनबारे भोलि सैद्धान्तिक निर्णय गर्ने तयारी गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत