खेल

पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, करणको ह्याट्रिक (फाेटाेफिचर)

काठमाडाैं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अलराउण्डर करण केसीकाे  ह्याट्रिक विकेटसहित नेपालले फाइनलमा स्थान बनाएको हो ।

२ सय ४ रनको लक्ष्य लिएर आएको पीएनजी १९.४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । पीएनजीको यो लगातार तेस्रो हार हो ।

करण केसीले दुवै ओपनर लेगा सिएका र कप्तान असाद भालालाई समान १ रनमा आउट गरे । सिएकालाई आउट गर्दै करणले ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । अन्तिम ओभरमा करणले चाड सोपर (२), सिमोन अटोइ (०) र नोसाइना पोकाना (०) लाई आउट गरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बने ।

करणले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । नेपाली खेलाडीले पहिलो पटक ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका हुन् । २०१५ को ट्वान्टी २० विश्वकप छनोटमा वसन्त रेग्मीले हङकङविरुद्ध १६ रन खर्चेर ४ विकेट लिनु नेपाली खेलाडीको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यसअघिको उत्कृष्ट बलिङ प्रदर्शन थियो ।

चाल्र्स अमिनीले सर्वाधिक ४७ बलमा सर्वाधिक ६२ रन बनाउनेक्रममा ९ चौका प्रहार गरे । टोनी उराले २२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । नोर्मन भानुआ १७ र सेसे बाउले २५ रन बनाए । दुबैलाई अविनाश बोहराले लगातार बलमा आउट गरे । अविनाशसँगैं सोमपाल कामीले २/२ र कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

यसअघि पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले नेपालबाट ३३ बलमा सर्वाधिक ६६ रन बनाए । उनले १८ औं ओभरमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । दीपेन्द्रले कुल ३ चौका र ४ छक्का प्रहार गरे ।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो ५० औं खेल थियो । राउन्ड रोबिन लिगमा नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र अघिल्लो दिन मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पीएनजी दुबै खेलमा पराजित भइसकेको छ । मलेसियासँगको खेल पनि ८ रनले पराजित पीएनजीलाई नेपालसँगको हारले फाइनल दौडमा पुग्न अप्ठ्यारो बनाएको छ ।

तस्बिर- क्यान

गाउँ सहर संवाददाता

तपाईँको मत