खेल

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधिका लागि आज पपुवा न्युगिनीसँग खेल्दै नेपाल

काठमाडाैं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ ।

आयोजक नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका छन् । आइतबार शृंखलाको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै कप्तान लामिछानेले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले सतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका थिए ।

यस्तै पिएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालको सामना गर्ने बताएका छन् ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो ।  पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो  । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत