गाउँ सहर

अमेरिकी सिनेटरको टोली नेपाल आउँदै

काठमाडाैं । चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन् । उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन् । उनीहरू अमेरिकाबाट नेपालकै लागि भने आउने छैनन् । नेपालसँगै उनीहरू पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्कन लागेको बताइएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किन लागेका हुन् । भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन् ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सिनेटरको टोली आउन लागेको बताएकी छन् । लम्सालले भनिन् ‘उहाँहरू ९ गते आएर ११ गते फर्किने कार्यक्रम छ ।'

नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ । यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ । रूसलाई मानव अधिकार परिषद्को सदस्यबाट निलम्बन गर्न भएको मतदानमा भने नेपाल तटस्थ बसेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत