राजनीति

डडेल्धुराका निवर्तमान जिल्ला सभापति मल्ल पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं प्रदेश सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन् ।

पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै उनलाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ (संशोधन सहित) विपरितका गतिविधि मल्लबाट भएकाले सदस्यसमेत नरहनेगरी हटाइएको बताए ।

स्थानीय तह निर्वाचनमा उनले पार्टीको केन्द्रीय निर्देशनविपरित जिल्लामा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवार तय गरेका थिए ।

डडेल्धुरा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । पार्टी सभापतिकै गृहजिल्लामा मल्लले कांग्रेस विरुद्ध बागी उम्मेदवार उठाएर एमालेसँग चुनावी तालमेल गरेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत