पूर्वाधार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । आज नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि उड्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने बताए ।

विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत २६० जनाको टोली जानेछ । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतका बारे जानकारी लिनेछ ।

परीक्षण उडानपछि अब अन्य मुलुकहरूले पनि चार्टड फ्लाईट गर्न सक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । 'परीक्षण उडान भइसकेपछि अव अन्य मुलुकहरुले चार्टड उडान गर्न सक्नेछन् भने व्यावसायिक उडानका लागि पनि पत्र पठाउन सक्नेछन्,' दाहालले भने ।

यो विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीहरूलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । यद्यपि, व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठमा बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ । 

आन्तरिक उडान १८ घण्टा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ ।

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै आजदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । 

'तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ', महानिर्देशक अधिकारीले भने।

अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ । 'अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४सै घण्टा चल्छ', उनले भने ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ । यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ । विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ । अधिकारीले भने, 'अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन । हामीले सेवा दिन सक्दैनौँ भन्नुपर्ने अवस्था छ ।'

नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन् । नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनि १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ । छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रसान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन् । पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन् ।

वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत