राजनीति

मतगणना स्थलमा अनिवार्य सिसी क्यामराकाे प्रबन्ध गर्न आयोगकाे निर्देशन

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । 

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनैकुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएकाे बताए ।

गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो । निर्वाचनका लागि कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैगरी यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ । आयोगले रङ्गिन र श्यामवेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले जानकारी दिए ।   

मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्नेछन् । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।

निर्वाचनका लागि पठाइएका सामग्री र मतपत्रको सुरक्षा, पालिका तहमा वितरण, आयोगका परिपत्रको कार्यान्वयन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँगको समन्वय आदिबारे सो बैठकमा छलफल भएको छ । बैठकमा प्रदेश र जिल्लास्तरबाट उठाइएका विषयमा स्पष्ट पार्दै आयोगका प्रवक्ता पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन दिँदै जिल्लास्तरमा जनशक्ति नियुक्त गर्दा व्यावसायिकता र सक्षमतालाई प्राथमिकता दिन आग्रह गरे । उनले निर्वाचनसम्बन्धी सूचना र तथ्याङ्क आयोगको प्रणालीमा प्रविष्टिका क्रममा कुनै समस्या भएका जिल्लास्तरबाट समाधान गर्नुपर्ने भएकाले चनाखो हुन आग्रह गर्दै प्राप्त सामग्री र बजेटलाई राम्रोसँग रुजु (अध्ययन) गरेर अपुग भएमा माग गर्न वा स्थानीय रुपमा व्यवस्थापन गर्न सकिने खालका भएमा त्यहीँ व्यवस्थापन गर्न सुझाव दिएका छन् ।   

उनले फोटोसहितको मतदाता नामावलीमा यसपटक लाहाछाप लगाएर निर्वाचन अधिकृतलाई पठाइएको, मतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको व्यवस्था गर्न भनिएको स्मरण गराए । आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षासम्बन्धी कतिपय सामग्री कुरियरबाट पनि पठाइएकाले सोको उचित वितरण प्रबन्ध गर्न आग्रह गरे । उनले निर्वाचनका क्रममा बारम्बार सोधिने प्रश्न, मतदान गर्ने सही तरिका, आचारसंंहितासम्बन्धी ब्रोसर, साझेदार संस्थाबाट प्राप्त जानकारीमूलक पुस्तक, जनस्वास्थ्य मापदण्डको पालनासम्बन्धी पोष्टर आदि पठाइको जानकारी दिए ।  

आयोगका उपसचिव कमल ज्ञवालीले स्थानीयरुपमै हुनसक्ने व्यवस्थापकीय तयारी त्यहीँ गर्न वा सानातिना समस्याको आफैँ समाधान गर्न आग्रह गर्दै विद्यमान, ऐन, नियम, निर्देशिका, आयोगका निर्णय र परिपत्रको सूक्ष्म अध्ययन गरेर निर्वाचनलाई व्यवस्थापकीयरुपमा सफल तुल्याउन प्रदेश र जिल्लास्तरका अधिकारीको भूमिका हुने अपेक्षा व्यक्त गरे ।  

आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र वैशाख १७ गते निर्वाचन चिन्ह वितरण गर्ने कार्यसूची रहेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत