गाउँ सहर

स्थानीय निर्वाचनमा भोट कसरी हाल्ने ? भाेट नबिगार्न यी कुरा अवश्य पढ्नुहाेस्

काठमाडाैँ । लाेकतन्त्र प्राप्तिपछिकाे दाेस्राे स्थानीय तहकाे चुनावमा देश चुनावमय छ । दलहरूले आ-आफ्नै तरिकाले मतदातालाई मत हाल्न सिकाइरहेका छन् । तर विवेकी मतदाताले मत हल्ने तरिका सबै सिक्नु अत्यन्तै जरूरी छ । किनकी पहिलाे २०७४ को स्थानीय तहको निर्वाचनमा ५ लाख ८८ हजार ४ सय १ मत बदर भएको थियो । यसकारण हरेक मतदाताले निम्न कुरा मतदान अघिकाे समयमा थाहा पाउनै पर्छ ।

  • स्थानीय निर्वाचनमा मतदान गर्न १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको हुनुपर्ने व्यवस्था छ । उमेरको योग्यता पुगेका कारण मात्रै मतदानमा भाग लिन पाइँदैन । मतदानमा सहभागी हुन निर्वाचन आयोगले संकलन गर्ने मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ र मतदाता परिचयपत्र अनिवार्य हुनुपर्छ । आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मतदान गर्न सकिन्छ । स्थानीय तहको कुन मतदान केन्द्रमा आफ्नो नाम समावेश छ भन्ने थाहा पाउन निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिने व्यवस्था छ । 
  • स्थानीय निर्वाचनमा भोट हाल्दा एकजना मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र थप दुई जना वडा सदस्य गरी सात उम्मेदवारका लागि मतदान गर्नु पर्नेछ  । सातवटै उम्मेदवारका लागि एउटै मतपत्रमा कोलम र चिह्न छुट्याइएको हुन्छ । मतदाताले सातै स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ । मतपत्रमा सातै जनालाई भोट हाल्न पाउने अधिकार हुन्छ । तर, मतदाताले जसलाई मन लाग्यो उसलाई मात्र पनि भोट हाल्न पाउँछन् तर सात कट्नुहुन्न । 
  • मतदान मतदाताको व्यक्तिगत अधिकार हो । एउटै पार्टीको सातै जनालाई मत दिनुपर्छ भन्ने छैन । पदअनुसार फरक–फरक पार्टीलाई मत दिन सकिन्छ । तर, यसो गर्दा विचार भने पु-याउनु पर्छ । मतपत्रको ठाडो कोलममा रहेका चिन्हमा एउटामा मात्र भोट दिन मिल्छ । तर, मतपत्रको छैठौं र सातौं कोलममा मत दिँदा तेर्सो वा ठाडो जता दिए पनि हुन्छ । एउटै लहरमा फरक–फरक दुई चिह्नमा मत दिन सकिन्छ । तर, मत जता दिए पनि दुइटा कोठामा मात्र दिनुपर्छ । त्योभन्दा बढी हुनु हुँदैन ।
  • छैठौं र सातौं कोलम वडा सदस्य खुलातर्फका लागि हो सातौं कोलममा एउटै कोठामा दुइटा चिह्न छ । त्यो दुइटा चिह्न एकै जना उम्मेदवारका लागि हो । वडा सदस्यमा एउटै पार्टीका दुई उम्मेदवार हुने भएकाले उम्मेदवारको चुनाव चिह्न पहिचान गर्न यस्तो व्यवस्था गरिएको हो । दुइटा चिह्न भएको ठाउँमा एक पटक मात्र छाप हाने पुग्छ । कोठाभित्र दुइटा चिह्न देखेर दुइटा छाप हान्दा मत बदर हुन्छ ।
  • पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा बदर हुन्छ । मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा पनि मत बदर हुन्छ । स्वस्तिक छाप बाहेक औँठा वा छाप लगाएमा पनि मत बदर हुन्छ । त्यस्तै, दुइटा चुनाव चिह्न भएको कोठाको बीचमा एक अर्कालाई छुने गरी छाप लगाएमा पनि मत बदर हुन्छ । साथै, चिह्न भएको कोठाबाहिर छाप लगाएमा पनि मत बदर हुन्छ । 
  • मतादानकाे दिन गर्भवती, सुत्केरी, अपांगता भएका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, किरियामा बसेका मतदाताहरूले लाइन नबसी मतदान गर्न सक्ने छन् । मतदान केन्द्रमा पुरुष र महिला मतदाताको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ । लाइनअनुसार मतदान गर्ने व्यक्तिको हातको नङमा चिनो लगाउने काम हुन्छ । त्यसपछि तथ्याङ्क फारम भरेर मतपत्र लिएर मतदान गर्न सकिन्छ । 
  • कोभिड–१९ संक्रमण अहिले पनि रहेकाेले मतदान स्थलमा भिडभाड हुने भएकाले कोभिड संक्रमण हुनबाट बच्न मास्क र स्यानिटाइजर अनिवार्य रूपमा लगाउनुहाेला । मतदान आफूलाई मनपर्ने उम्मेदवार छान्न पाउने अधिकार हो । त्यसैले, मतदाताले सकेसम्म आफ्नो उक्त अधिकार प्रयोग गर्नुपर्छ ।
  • सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन चार वटै सुरक्षा निकाय परिचालन गरेको हुन्छ । चार वटा सुरक्षा निकायमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान पर्छ । मतदान स्थलको शान्ति सुरक्षाका लागि प्रहरीसँगै म्यादी सुरक्षाकर्मी पनि खटाइएको हुन्छ । मतदान स्थलमा मोबाइल फोन, कुनै पनि प्रकारका हातहतियार लैजान पाइदैन । यस्तै निर्वाचन आयोगले निर्वाचनका दिन सवारीसाधन बन्द गर्ने जानकारी दिएको छ ।
  • तर, मिडिया र उम्मेदवारले सवारी पास लिएर सवारी चलाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, आयोगले अत्यावश्यक सामग्री बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधन भने चल्न दिने जनाएको छ । साथै बैशाख ३० गते सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।
  • स्थानीय निर्वाचन बैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मको समयलाई मतदानको समय तोकिएको छ । मतदाताले आफ्ना नाम रहेको मतदान केन्द्रमा पुगेर मतदानमा सहभागी हुन सकिने छ ।

यसकारण निर्वाचनमा निर्धक्क भएर सहभागी हुन र हककाे प्रयाेग गर्न गाउँ सहर डटकम अनुराेध पनि गर्दछ ।

शुभकामना ।।।

गाउँ सहर संवाददाता

तपाईँको मत