राजनीति

काठमाडाैं महानगरकाे प्रमुख/उपप्रमुखमा विजयी दुई युवा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

महानगर उपप्रमुखमा एमालेकी सुनिता डंगोल पनि फराकिलो मतान्तरसहित विजयी भएकी छन् ।  डंगोल  ६८ हजार ६१२   मतसहित विजयी भएकी हुन् ।  गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)  उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०५ मत ल्याएका छन् ।

र्‍यापरबाट नगरपिता  

काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित वालेन्द्र साहको जन्म सन् १९९० मा भएको हो । विभिन्न गीत लेखन, गायन, निदेशन र र्‍याप गीतमार्फत् युवा पुस्तामा अधिक रुचाइएको साहको जीतले राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ ।

पुर्ख्यौली घर महोत्तरी जिल्लामा हो । साहकी आमाको नाम कुवदेवी साह र बुवाको नाम रामनारायण साह हो । साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तरको शिक्षा हासिल गरेका छन् । 

देशैभरका सक्षम नेता एवम् व्यक्तिसँग सहकार्य गर्दै काठमाडौं महानगरको मुहार फेर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 

मिस नेवा हुँदै उपप्रमुख

काठमाडौं महानगरको नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले यसअघि पनि कला, संस्कृति संरक्षण एवम् सम्बर्द्धनमा उनको छुट्टै पहिचान छ । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको केही समयअघि मात्रै उहाँ एमाले प्रवेश गरेर उपप्रमुखको उम्मेदवार बनेकी थिइन् । सन् २०११ को मिस नेवा नामक सौन्दर्य प्रतियोगितामा उनी विजयी भएकी थिइन् । 

यसैगरी, नेपाल भाषाको रञ्जना लिपी प्रवर्द्धनमा पनि उनले महत्वपूर्ण योगदान रहेको छ  । काठमाडौं महानगरको सम्पदा संरक्षण, पर्यावरणीय र पूर्वाधार विकासमा उनले प्रतिबद्धता व्यक्त गर्दै आएकी छन् । 

काठमाडौं महानगरकाे वडा नेतृत्व

काठमाडौं महानगरपालिका- १ को वडाअध्यक्षमा एमालेका भरत लाल श्रेष्ठ, २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ, ३ मा एमालेका प्रेम थापा, ४ मा एमालेका दिनेश महर्जन, ५ मा एमालेका विरेन्द्र प्रजापति, ६ मा कांग्रेसका भुवन लामा, ७ मा कांग्रेसका विमलकुमार होडा, ८ मा कांग्रेसका आशामान संगत, ९ मा कांग्रेसका रामजि भण्डारी, १० मा कांग्रेसका रामकुमार केसी, ११ मा कांग्रेसका हिरालाल तण्डुकार, १२ मा कांग्रेसका बालकृष्ण महर्जन, १३ मा एमालेका ध्रुव नारायण मानन्धर, १४ माकांग्रेसका सुमन श्रेष्ठ विजयी भएका छन् । 

१५ मा नेकपा (एकीकृत समाजवादी) का ईश्वरमान डंगोल, १६ मा कांग्रेसका मुकुन्द रिजाल, १७ मा कांग्रेसका नविन मानन्धर, १८ मा एमालेका न्हुछेकाजी महर्जन, १९ मा कांग्रेसका राजेश कुमार श्रेष्ठ, २० मा कांग्रेसका राजेन्द्र मानन्धर, २१ मा एमालेका उदय चुडामणि बज्राचार्य, २२ मा एमालेका चिनीकाजी महर्जन, २३ मा एमालेका मचाराजा महर्जन, २४ मा कांग्रेसका विनोदकुमार राजभण्डारी, २५ मा कांग्रेसका राजेश डंगोल, २६ मा कांग्रेसका खेमराज तिवारी, २७ मा कांग्रेसका योगेश कुमार खड्गी, २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश, २९ मा कांग्रेसका कुश ढकाल, ३० मा कांग्रेसका दलबहादुर कार्की, ३१ मा एमालेका सरोज ढकाल र ३२ मा एमालेका नवराज पराजुली विजयी भएका छन् ।

महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी भएका छन् । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।  निर्वाचित उम्मेदवारलाई बधाई दिँदै निर्वाचन आयोगले महानगरको औपचारिक घोषणा कार्यक्रम भने शुक्रबार बिहान ८ बजे गर्नेछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत