स्वास्थ्य

मङ्कीपक्सको रोकथाम र नियन्त्रणको लागि के गर्ने ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्कीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । नेपालमा हालसम्म यो रोग नदेखिएपनि विश्वका धेरै मुलुकमा देखापरेकोले आम नागरिकमा सचेतना ल्याउने उद्धेश्यले यो जानकारीमुलक सूचना प्रवाह गरिएको हो ।

कसरी सर्छ ?

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको निम्न कुराबाट सर्छः

  • थुक, र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्री ।

निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः

  • श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छाला ।
  • वाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलन सक्छ ।

लक्षणहरु के के हुन् ?

  • ज्वरो आउनु, सामान्यतयाः ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हत्केला र पैतालामा डाबर देखिनु, टाउको, ढाड र मांशपेसी दुख्नु, शरीरका ग्रन्थिहरु बढ्नु, लक्षण् १४—२८ दिनसम्म रहन सक्छ र सामान्यतया आफैँ हराउँछ ।

सम्भावित जटिलता

  • आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, न्यूमोनिया, मस्तिस्क ज्वर, गर्भ खेर जानु र मृत्यु ।

रोकथामका उपायहरु

  • मङ्कीपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने ।
  • सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने ।
  • सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने ।
  • घाउसँग प्रत्यक्ष् सम्पर्क हुन्छ भने पञ्जा लगाउने ।
  • नियमित रुपमा साबुनपानीले हात धुने ।
  • मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने ।
  • सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने ।
  • सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने ।
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।
  • फोहोरलाई उचित स्थानमा फाल्ने ।

अन्त्यमा, ज्वरो आएको १ देखि ३ दिनभित्र अनुहार, हत्केला र पैतालामा दाग वा डाबर देखिएमा सम्पर्क गर्न मन्त्रालयले सुझाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत