गाउँ सहर

गणतन्त्र दिवसकाे शुभकामनामा कसले के भने ?

काठमाडाैं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । साे अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना व्यक्त गरेका छन् । शुभकामनामा कसले के भने ?

राष्ट्रपतिको शुभकामना सन्देश

 

राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।

सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा छ ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मुलभूत विशेषता रहेको उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराइसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसबाट गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको सन्देशमा छ ।

‘नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्स लिएको छु’ सन्देशमा भनिएको छ ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसासमेत राष्ट्रपति भण्डारीले व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

 

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन उपराष्ट्रपतिको आह्वान

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन्। 

गणतन्त्र दिवस–२०७९ का अवसरमा आइतबार शुभकामना दिँदै उनले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताएका छन्। 

गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर संघर्षमा उत्रिएको उल्लेख गर्दै उनले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए। गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उनको विश्वास छ।     

गणतन्त्र प्रारम्भको १४ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूला–ठूला उथलपुथल भएको उल्लेख गर्दै उनले फलस्वरुप संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान बनेको उल्लेख गरेका छन्।

संविधानबमोजिम दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्मुखमा रहेको जनाउँदै उपराष्ट्रपति पुनले संविधानले महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसंख्यक, उत्पीडित क्षेत्रका समुदायलाई थुप्रै अधिकार दिइएको बताए।     

राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने भन्दै उनले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गरेका छन्।

'यति गर्न सकियो भने जनताको जीवन परिवर्तथन तथा देशको विकास र समृद्धिमा कुनै ढिला हुँदैन। यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ', उनले भनेका छन्, 'गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्छ। यसतर्फ म सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।'

 

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै धानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, 'संविधानले आम नेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चत गर्दै नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्पूरा गर्ने यात्रामा आज हामी क्रियाशील छौँ ।'

 

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए ।  

संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताए । 

गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना व्यक्त गर्दै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत