राजनीति

कांग्रेस सांसद थापाले माग : एसपीपीबारे प्रधानमन्त्री देउवाले जवाफ दिनुपर्छ

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रस्ट पार्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) प्रस्तावबारे सरकारसँग जवाफ माग गरेका हुन् ।

‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा नेपाल सहभागी हुन पाउँदैन र सक्दैन’, उनले भने, ‘नेपाली कांग्रेस र नेपाल यस्ता  प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन । प्रधानमन्त्रीले आजैको संसद्‌मा आएर जवाफ दिन सभामुखसँग माग गर्दछु ।’ 

उनले यस विषयमा समाचारहरू प्रशस्त आएका भन्दै विगतदेखिका रक्षामन्त्री सकारात्मक रहेको भनिएको पनि सुन्नमा आएकाले सदनमा जवाफ प्रष्ट आउनुपर्ने बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको समयमा सैन्य सम्झौता हुने भनी केही मस्यौदा सार्वजनिक भएको थियो । उक्त मस्यौदालाई लिएर अहिले विवाद सुरु भएको छ ।

उनले सामरिक विषयहरूमा नेपालले सजग भएर कदम चाल्नुपर्ने बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत