अर्थतन्त्र

धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

काठमाडौं । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।

धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

यो व्यवस्था स्मरण गराउँदै संघीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गरएको थियो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ ।

यसअघि कतिपय पालिकाहरुले निर्धारित समयमा बजेट पारित गर्न नसक्दा वित्तीय अनुशासन कायम नभएको र पालिकाहरुले खर्च गर्न पनि नसकेको अवस्था थियो । फेरि पनि त्यस्तै अवस्था नआओस् भनेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।

बाजुराको बुढीगंगा नगरपालिकाबाहेकका सबै पालिकाहरुमा जनप्रतिनिधिहरु चुनिइसकेका छन् । ती पालिकाका जनप्रतिनिधिहरु नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने कार्यक्रममा व्यस्त छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत