राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, कोइराला पक्षले खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको पहिलो पटक हो ।

आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  स्थानीय तह निर्वाचन २०७९ को  समीक्षा आउँदो   प्रदेश  र प्रतिनिधि  सभाको   निर्वाचनको  रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताए ।

बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।  आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।

बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

आइतबार बसेको कोइराला पक्षका नेताहरुको बैठकले पार्टी नेतृत्व विधानविपरीत चलेको र सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै यही विषय बैठकमा उठाउने निर्णय गरेको थियो ।

त्यसैगरि शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता(कार्यकर्ताहरुले प्रदर्शन गर्न लागेका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत