गाउँ सहर

११ बुँदे सहमतिपछि विद्यार्थीले जुस पिएर ताेडे अनसन

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको वार्ता समिति र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बीच ११ बुँदे सहमति भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा विभिन्न सुधारको माग राख्दै २८ गतेदेख अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण अनसन बसेका थिए ।

त्रिविका उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटाको रोहवरमा भएको सहमतिसँगै अनसन पनि तोडिएको हो ।

यस्ता छन् सम्झौताका बुँदाहरू :
१. उच्चशिक्षा अन्तर्गत स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक श्रोतबाट सञ्चालित
कार्यक्रमका सम्बन्धमा आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरूले लिने शुल्क समायोजन र नियमित तर्फ लैजाने तथा तत्तत् तहको निरन्तर पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन पन्ध्र दिन भित्र कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदन २०७९ पौष मसान्तसम्म कार्यान्वयन गर्ने । 

२. विश्वविद्यालयमा रहेका विद्यार्थी सङ्गठनहरूका केन्द्रीय नेत्तृत्वसँग स्व.वि.यु. निर्वाचनको सन्दर्भमा भाद्र मसान्तसम्म छलफल गर्ने र नेपाल सरकारसँग समन्वय गरी निर्वाचन गर्ने । 

३. सेमेस्टर प्रणाली अन्तर्गत स्नातक स्नातकोत्तर तहको विभिन्न विषयको प्रश्नपत्र निर्माणका सम्बन्धमा देखिएको समस्याबारे सम्बन्धित डीन कार्यालयको परीक्षा बोर्ड, केन्द्रीय परीक्षा बोर्ड र त्रि.वि.कार्यकारी परिषद्ले समेत मौजुदा कानुन बमोजिम कारबाही गरेकोले उक्त कारबाही तत्काल कार्यान्वयन गर्ने ।

४. हालै मानविकी तथा सामाजिक शास्त्र तथा व्यवस्थापन सङ्काय लगायतका परीक्षा प्रणालीमा देखिएका कमीकमजोरी हटाउन परीक्षा प्रणालीलाई थप व्यवस्थित र नीतिगत सुधार गर्न तथा परीक्षा व्यवस्थापनलाई मर्यादित बनाउन कसर अनुसार थप सजायको व्यवस्था गर्न उच्चस्तरीय समिति गठन गरी आवश्यक कार्यविधि तयार गर्ने र त्रि.वि. कार्यकारी परिषद्‍द्वारा मिति २०७९/३/२७ गते गठित समितिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने। 

५. त्रिभुवन विश्वविद्यालयले वार्षिक शैक्षिक कार्य तालिका बनाई सार्वजनिक गर्ने र सोही अनुसार पठन पाठन, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने । 

६. त्रिभुवन विश्वविद्यालय सेवा आयोगले वार्षिक कार्यतालिका तयार गर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन गरी नियमित रूपमा खुल्ला विज्ञापन गर्ने कार्यका लागि सिफारिस गर्ने ।

७. परीक्षा नियन्त्रण कार्यालयमा TUEMIS बढीमा ६ महिना भित्र कार्यान्वयन गर्ने साथै विकेन्द्रीकरणको अवधारणा अनुरूप सम्बन्धित क्षेत्रीय कार्यालयहरू मार्फत रजिस्ट्रेसन, परीक्षा फारम, उत्तर पुस्तिका परीक्षण व्यवस्थापन तथा माइग्रेसन, प्रोभिजनल, ट्रान्सकृष्ट, मूल सर्टिफिकेट प्रिन्ट र वितरण लगायतका कार्यहरु वढिमा ६ महिना भित्र कार्यान्वयन गर्ने । 

८. कानुन सङ्कायतर्फ BA LLB कार्यक्रम सञ्चालन गर्न इच्छुक आङ्गिक क्याम्पसहरूलाई पठन पाठन गर्न आवश्यक सहजीकरण गर्ने । ९. विश्वविद्यालयका विभिन्न प्रशासनिक पदमा उचित पद उपयुक्त व्यक्ति भन्ने अवधारणा कार्यान्वयन गर्न सम्बन्धित पदको नियुक्ति गर्दा सम्बन्धित इच्छुक व्यक्तिको प्रस्ताव (Need of Interest) प्रस्तुत गर्न लगाई मूल्याङ्कनको आधारमा नियुक्ति
दिने व्यवस्था कार्यान्वयन गर्ने । 

१०. त्रिभुवन विश्वविद्यालयको सम्पत्ति माथिको अतिक्रमण रोक्न सरोकारवालासँग समेत छलफल गरी केन्द्रीय कार्यालय सहित सम्पूर्ण निकायहरूले चल, अचल सम्पत्तिको आवश्यक मूल्याङ्कन र संरक्षण गर्न पन्ध्र दिनभित्र कार्यदल बनाई ६ महिनाभित्र अद्यावधिक र अभिलेखीकरण गर्ने । 

११ अनेरास्ववियूले आषाढ २८ गतेदेखि गर्दै आएको आमरण अनसन फिर्ता लिने सहमति गरियो। 

गाउँ सहर संवाददाता

तपाईँको मत