गाउँ सहर

चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्नकाे लागि दिँदैछ ६ थरी झाेला, कुनमा के हाल्ने ?

काठमाडाैं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्नकाे लागि झाेला वितरण गर्ने भएकाे छ त्याे पनि ६ वटा । 

नगरपालिकाले फाेहाेरकाे प्रकृति हेरि साेही अनुसार वर्गिकरण गरेर हाल्नकाे लागी ६ वटा झाेला निःशुल्क दिने भएकाे हाे ।  

मंगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटै झोलामा राख्नुपर्ने निर्णय गरेको हो । यसरी वर्गीकरण गरिएको फोहोर तोकिएका ६ वटा विभिन्न रङका झोलामा राख्न नगरपालिकाले अनुरोध गरेको छ ।

यस्तो झोला वडा कार्यालयहरू र टोल सुधार समितिमार्फत् निःशुल्क पाउन सकिने नगरपालिकाले उल्लेख गरेको छ ।

चन्द्रागिरि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'शून्य फोहोर अवधारण साकार पार्नका लागि फोहोर वर्गीकरण गरी घरमा संकलन गर्न अनुरोध गरिन्छ । वर्गीकरण अनुसारको फोहोर संकलन हुने दिनमा मात्र सो फोहोर उपलब्ध गराउन अनुरोध गरिन्छ ।'

यस्तै पालिकाले फोहोर संकलनवापत नगरपालिकाको आर्थिक ऐनअनुसार तोकिएको दरमा शुल्क बुझाउन पनि भनेको छ । 

यस्तो वर्गीकरण अभियान साउन ४ गते बुधबारदेखि नै सुरू हुनेछ । त्यस्तै आगामी भदौ १ गतेदेखि यसरी फोहोर वर्गीकरण नगर्ने परिवारलाई जरिवाना हुने पनि नगरपालिकाले बताएको छ । 

नगरपालिकाले उपलब्ध गराएको फोहोर वर्गीकरण तरिका र झोलाको रङ यस्तो छ-

कालो झोला- कुहिने फोहोर

रातो झोला- सिसा र सिसाजन्य फोहोर

हरियो झोला- प्लास्टिकजन्य फोहोर

सेतो झोला- कागजजन्य फोहोर

नीलो झोला- फलाम लगायत कवाडीजन्य फोहोर

पहेँलो झोला- स्यानिटरी प्याड, डाइपर लगायत फोहोर

 

गाउँ सहर संवाददाता

तपाईँको मत