खेल

संसदीय समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदै, निष्कर्षमा फरक मत

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले आज प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ ।

चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिवेदनलाई अन्तिमरुप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो । समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ ।

गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गरिने घोषणा गरेका थिए ।

समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका छन्।

संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए ।

समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले भने समितिको निष्कर्षमा फरक मत राखेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत