गाउँ सहर

नासु कर्मचारी आन्दोलनमा, भोलि देशैभरका बिदामा बस्ने

काठमाडाैं । निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । असमान तलव वृद्धिका विरूद्धमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।

उनीहरुले आज पेन डाउन गरेर काम ठप्प बनाएका थिए । नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने चेतावनी दिएका छन् ।

असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनको भनाइ छ ।

उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।

निजामतीतर्फका नायव सुब्बाहरूले नासुमारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाइँदैन, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमाा बढुवा हुने व्यवस्था गरलगायतका माग राखेर चरणबद्ध संघर्ष गरिरहेका छन् ।

मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा तलब ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमामाथि तल्ला तहका कर्मचारीले विरोध गर्दै सबैको समान ढंगले तलब बढाउनुपर्ने माग गरेका छन्  ।

चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत