अर्थतन्त्र

सयपत्री हाइड्रोपावरको आईपीओ पर्‍यो त ? यसरी हेर्नुहाेस्

काठमाडाैं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान भएकाे हाे ।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्। 

यो आईपीओमा १४ लाख १३ हजार ५७२ आवेदकबाट १ करोड ५४ लाख ९५ हजार ७९० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख १२ हजार ४६८ आवेदकबाट परेको १ कोड ५४ लाख ८२ हजार ९६० कित्ता सेयर सदर भएको छ। १ हजार १०४ आवेदकबाट परेको १२ हजार ८३० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

यो आईपीओमा १३ लाख ४५ हजार ४१० आवेदकबाट हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको नतिजा आईपीओ बिक्री गर्ने कम्पनी सयपत्री हाइड्रोपावर र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइटका साथै सीडीएससीको iporesult.cdsc.com.np मा पनि हेर्न सकिन्छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत