राजनीति

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठक बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

शीर्ष नेताहरूको बैठकमा कार्यदलले दिएको प्रतिवेदनको आधारमा छलफल चलिरहेको राष्ट्रिय जनमोर्चाकाकी नेता दुर्गा पौडेलले जानकारी दिइन्।  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मंगलबार दिनभर छलफल गरेर टुङ्गो पुग्ने तयारी छ।

कार्यदलले विभिन्न चरणमा छलफल गरेर ८० प्रतिशत सिटमा सहमति जुटाएको जनाएको छ। मधेसका केही जिल्ला र पहाडका केही क्षेत्रमा सहमति हुन बाँकी छ। २० प्रतिशत सिटमा देखिएको समस्या शीर्ष तहबाटै समाधान गर्ने भन्दै शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। 

नेपाली कांग्रेस, नेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका बीचमा केही क्षेत्रमा दोहोरो दाबी देखिएको छ। मधेसका जिल्लाहरुमा नेपाली कांग्रेस र जसपाका बीचमा विवाद भइरहेको छ।

पहाडी जिल्लाहरुमा सिन्धुपाल्चोक,काभ्रेपलान्चोक, दोलखा,गोरखा र काठमाडौं लगायतका जिल्लामा दोहोरो दाबी देखिन्छ। त्यस्तै, प्रदेश सभाका क्षेत्रहरुमा पनि दलहरुले यस्तै दाबी गरेका छन्। असोज २३ गते प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता हुनेछ। असोज १६ गते निर्वाचन आयोगले समानुपातिकको अन्तिम  सूची प्रकाशन गर्दै छ। 

त्यसअघि सहमति जुटाउनुपर्ने भएकाले शीर्ष नेताहरू अन्तिम प्रयासमा लागेका हुन्।  सत्तारुढ दलसँग चार दिनको समय भएकाले उनीहरू गम्भीर छलफलमा जुटेको बताइएको छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत