खेल

एघारौं पोखरा महोत्सव सम्पन्न

पोखरा । पुष २७ देखि पोखराको अमरसिंह चौरमा सञ्चालन भएको पोखरा महोत्सव सम्पन्न भएको छ । १४ दिनसम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद मनबहादुर गुरुङले युनाइटेड क्लब पोखराले सामाजिक कामका लागि नै महोत्सवको आयोजना गरेर अगाडि बढिरहँदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणसँगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदीलाई सहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङले युनाइटेड क्लव आफ्नो उद्देश्यमा अगाडि बढ्दै उद्देश्यलाई पुरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो सधैँ साथ र सहयोग रहने बताए ।

महोत्सवका मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक बिनोद रौनियारले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि बढिरहेको युनाइटेड क्लबसँग आफ्नो संस्थाले  सामाजिक उत्तरदायित्व बहन गर्ने गरी सहकार्य गर्न पाउदा निकै खुशी लागेको बताए ।

जिल्ला डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले एउटा क्लबले गरेको सामाजिक काम चानेचुने कुरा नभएको बताउँदै पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लव चिडियाखानाको मातृ संस्था रहेको बताए ।

अमरसिंह माबिका प्रध्यानाधयापक तेजश्वी बरालले युनाइटेड क्लवले हाल सम्म लिएको उद्देश्यलाई प्राप्त गर्न सफल भएको र एघारौं पोखरा महोत्सवदेखि पोखरा लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुने छात्राबास निर्माणको उद्देश्य समेत पुरा हुनेमा आफु विश्वस्त रहेको बताए ।

महोत्सव अवधिभर करीब २ लाख ५० हजार दर्शकले अवलोकन गरे भने लगभग १० करोडको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।

तपाईँको मत